एक महिलाले गरिन एकै पटक १८ पुरुषसँग डेटिङ, नक्कली बिहे गर्दै ठगी

बेइजिङ । आफ्नो विलासितापूर्ण जीवनका आवश्यकताहरू पूरा गर्ने उद्देश्यले चीनकी एक जना विवाहित महिलाले सन् २०१७ यता झण्डै २० जना पुरुषबाट २० लाख युआन ठगेको रहस्य खुलेको छ ।

 

 

 

वु नाम गरेकी २९ वर्षीया ती महिलाले सन् २०१७ देखि पीडित पुरुषहरूलाई नक्कली विवाह सम्झौताको लोभ देखाउँदै ठग्दै आएकी थिइन् । सांघाइ टेलिभिजनले ती महिलाले एकै पटक १८ जना पुरुषसँग डेटिङ गर्ने दुस्साहस समेत गरेको जनाएको छ ।

 

 

 

वुले ती सम्पूर्ण पुरुषलाई आफ्नो प्रेम सच्चा भएको भन्दै मख्ख पारेर नक्कली सम्बन्ध कायम गर्दै आएकी थिइन् ।

 

 

उनले उनीहरूसँग विवाहपूर्वका तस्बिर खिचाउने गरेको र ती सबै पुरुषले उनलाई सधैँ ‘पत्नी’ भनेरै सम्बोधन गर्ने गरेको बुझिएको छ ।

 

 

आफ्नो फन्दा परेका पुरुषहरूसँग उनले परिवारका सदस्यहरूलाई मद्दत गर्नुपर्ने भन्दै पैसा माग्ने गरेकी थिइन् ।

 

 

 

नक्कली विवाह गर्ना साथ उनले उनीहरूसँग आफ्नो पिता क्यान्सर पीडित भएको, काकाको छोरालाई जमानत दिएर जेलबाट छुटाउन परेको र आफ्नै भाइलाई घर किन्न पैसाको खाँचो भएको बहाना गर्दै ठग्ने गरेकी थिइन् । केही पीडित पुरुषले ऋण खोजेर भए पनि उनलाई पैसा दिने गरेका थिए ।

 

 

 

 

कुनै पुरुषले उनको आनीबानी देखेर शंका गरी ‘प्रहरीलाई खबर गर्छु’ भनी धम्क्याए नयाँ प्रेमीबाट पैसा लिएर खतराको घन्टी बजाउन खोज्नेलाई पैसा दिएर उनीहरूको मुख थुन्ने पनि गरेकी थिइन् ।

 

 

तर, अन्ततः यस्तै पैसाको मामिलामा शंका लागेपछि उनको एक जना प्रेमीले उनलाई प्रहरीको फन्दामा पारिदिएका हुन् ।

 

 

 

 

सांघाइ प्रहरीकाअनुसार सन् २०१४ मै विवाह गरेर एक बच्चाकी आमा समेत रहेकी उनी आफ्नो सक्कली पतिसँग एउटा भाडाको घरमा बस्दै आएकी छन् । उनले अरुलाई भने आफू फेशन मोडेलको रूपमा काम गर्ने गरेको बताउँदै आएकी थिइन् ।एजेन्सी