कमेडियन अपूर्व क्षितिज सिंह पक्राउ

काठमाडौं। रियालिटी सो स्ट्यान्डअप कमेडियन अपूर्व क्षितिज सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।

 

 

निश्चित एक जातीय समूहको कला, संस्कृति, लजवलाई लिएर अपमानजनक रुपमा व्यंग्य गरेको भन्दै सिंहलाई पक्राउ गरेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता डीएसपी दिनेश मैनालीले जानकारी दिए।

 

 

केही समयअघि सिंहले युट्युब च्यानल कमेडी क्याफेमा राखेको भिडियोमा नेवार समुदायको कला, संस्कृति र लवजमाथि व्यंग्य गरिएको थियो।

 

 

सोही विषयलाई लिएर नेवार समुदायका व्यक्तिहरूले उजुरी दिएपछि सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको मैनालीले बताए।

 

 

 

सिंहले भने माफी माग्दै युट्युबबाट सो भिडियो हटाइसकेका छन्। उनले कसैमाथि अपमान गर्ने उद्देश्य नभएर रमाइलोका लागि मात्रै व्यंग्य गरेको प्रतिक्रिया दिएका छन्।

 

 

 

मैनालीका अनुसार शुक्रबार सिंहविरुद्ध उजुरी परेको थियो। सोही उजुरीको आधारमा प्रहरीले सिंहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।