कांग्रेस पार्टी कार्यालयमा नेविसंघको ‘कलम विद्रोह’

काठमाडौं । नेपाल विद्यार्थी संघका नेता कार्यकर्ताले नेविसंघको वैधानिक पूर्णता र महाधिवेशनको सुनिश्चितताका लागि पार्टी नेतृत्वलाई खबरदारी गरेका छन् ।

 

 

नेविसंघसँग आबद्ध नेता कार्यकर्ताहरूले आइतबार दिउँसो सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा ‘कलम विद्रोह’ कार्यक्रम आयोजना गर्दै पार्टी नेतृत्वलाई पार्टी कार्यालयमा नै उपस्थित भएर खुलापत्र लेखेका हुन् ।

 

 

 

नेविसंघ नेत्री पूजा फुँयालले पार्टीको जगका रूपमा रहेको नेविसंघलाई पार्टी नेतृत्वले बिर्सिएको र आफू अनुकूल चलाएको भन्दै विद्रोहमै उत्रनु परेको बताइन् ।

 

 

 

उनले पार्टीको केन्द्रीय कार्यासमितिमा रहेका सबै नेतालाई कांग्रेस उपसभापति धनराज गुरुङमार्फत नेविसंघको पूर्णताको माग गर्दै खुलापत्र बुझाइएकोसमेत जानकारी दिइन् ।

 

 

 

 

पार्टीको मेरुदण्ड र प्रमुख संगठित शक्तिको स्रोतका रूपमा रहेको नेविसंघलाई एक जना व्यक्तिमा सीमित गरी सिंगो संगठनलाई बन्धक बनाउने काम भएको उनीहरूले आरोप छ ।

 

 

 

कांग्रेस केन्द्रीय समितिले साउन मसान्तभित्र भ्रातृ संस्थालाई पूर्णता दिने निर्णय गरे पनि सो निर्णय कार्यान्वयनमा आएको छैन ।

 

 

संगठनको अस्तित्व नै संकटमा पर्ने अवस्था आएका कारण नेविसंघको वैधानिक पूर्णता र संघको १२औं महाधिवेशनको सुनिश्चितताका लागि आफूहरू कलम विद्रोहमा उत्रिएर नेतालाई सामूहिक रूपमा खुलापत्र लेखेको नेविसंघका नेत्री एलिजा ढकालले जानकारी दिइन् ।

 

 

 

नेविसंघमा सभापति शेरबहादुर देउवाले अध्यक्ष मात्रै मनोनीत गरेका छन् भने अन्य पदाधिकारी तथा सदस्य तोकिएको छैन ।

 

 

केही समय अघिदेखि नै नेविसंघ पूर्णताको मागसहित सामाजिक सञ्जालबाट ‘जग जोगाऊ पार्टी बचाऊ’ अभियानमार्फत विरोध हुँदै आइरहेको छ ।राजधानीबाट