पल शाहले पाए सफाइ, बाल यौन दुरुपयोगको मुद्दामा २ वर्षको कैद,पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति

काठमाडौं।बलात्कारको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहलाई जिल्ला अदातल, नवलपुरले बलात्कारको मुद्दामा सफाइ दिएको छ। तर बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद सजाय र २५ हजार रुपैयाँ जरिवाना सुनाएको छ।

 

 

 

यज्ञप्रसाद आचार्यको इजलासले पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन भनेको छ भने अभिभावकलाई पनि सचेत गराएको अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीले जानकारी दिए ।

 

 

 

गत चैतमा अभिनेता शाहमाथि नाबालिका गायिकामाथि बलात्कार गरेको आरोप लागेको थियो । पीडितको बाबुको जाहेरीका आधारमा प्रहरीले मुद्दा अघि बढाएको थियो । उनीमाथि १२ देखि १४ वर्ष कैद सजायको माग थियो ।

 

 

 

पीडितका बाबुले जाहेरीमा उल्लेख गरे अनुसार, सुटिङका क्रममा अभिनेता शाह सहित पीडित र अरु व्यक्तिहरु ७ चैत २०७७ मा गैडाकोट रिसोर्टमा थिए ।

 

 

 

त्यही दिन राति कलाकार शाह पीडितको कोठामा प्रवेश गरेर जबर्जस्ती गरेको उल्लेख थियो । रिसोर्टमा भएको त्यो दिनको अभिलेखले समेत अभिनेता पल शाह जाहेरीमा उल्लेख गरिएको दिन त्यहाँ पुगेको र पीडितसमेत त्यही दिन रिसोर्टमा बसेको आरोप पत्रमा उल्लेख थियो ।

 

 

 

रिसोर्टका सञ्चालकले त्यो दिन कलाकारहरु रिसोर्टमा बसेको बयान त गरेका छन् नै, साथसाथै अभिनेता शाहले मदिरा सेवन गरेका समेत उल्लेख थियो । पछि पीडित गायिकाले अभिव्यक्ति बदल्दै आफूमाथि बलात्कार नभएको भनी जिल्ला अदालतमा बयान गरेकी थिइन।