फिल्म ‘के घर के डेरा’को टिजर सार्वजनिक

काठमाडौं। फिल्म ‘के घर के डेरा’को टिजर सार्वजनिक भएको छ। दीपेन्द्र के खनालको निर्देशनमा बनेको फिल्म काठमाडौँमा डेरामा बस्नेहरूको कथा रहेको फिल्मको टिजर बिहीबार युट्युबमार्फत सार्वजनिक भएको हो।

 

फिल्ममा दयाहाङ राई, सुरक्षा पन्त, विपिन कार्की, वर्षा राउत लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। जो काठमाडौंमा घर बनाउनका लागि संघर्ष गरिरहेको टिजरबाट अनुमान लगाउन सकिन्छ। सिंगे लामाको कथामा बनेको फिल्म कमेडी जनरामा बनेको छ।

 

 

महेश दवाडीको लेखन रहेको फिल्म शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जनले संयुक्त रूपमा निर्माण गरेका हुन्। फिल्म तिहारको छेको पारेर कात्तिक ४ देखि देशभर प्रदर्शनमा आउँदै छ।

 

 

‘के घर के डेरा’लाई यो वर्षको प्रतीक्षित फिल्मको रूपमा हेरिएको छ। कोरोनाकालपछि यसै फिल्ममार्फत विपिन पहिलोपटक पर्दामा देखिँदै छन्। यसअघि विपिन र दयाहाङ सँगै देखिएको फिल्म ‘जात्रैजात्रा’ सुपरहिट भएको थियो।

 

 

यो वर्ष प्रदर्शन हुने यो दयाहाङको तेस्रो फिल्म हो। गत जेठमा प्रदर्शन भएको ‘कबड्डी ४’ ले बक्स अफिसमा नयाँ कीर्तिमान बनाएको थियो भने यसपछि असोज २१ मा ‘२ नम्बरी’ प्रदर्शनमा आउँदै छ। यी बाहेक गत भदौ १० प्रदर्शन भएको ‘राधा’मा पनि उनको छोटो भूमिका थियो।

 

निर्देशक खनालको यसअघि ‘चिसो मान्छे’ प्रदर्शनमा आएको थियो। जुन व्यवसायिक रूपमा सफल हुन सकेको थिएन।