टेलिकमले थाल्यो निःशुल्क ई-सिम वितरण, के छन् विशेषता?

काठमाडौं ।नेपाल टेलिकमले ग्राहकहरुलाई निःशुल्क ई-सिम वितरण थालेको छ । ई-सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकहरुले उक्त नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्ने छन् ।

दूरसञ्चार कार्यालय, सुन्धारा काउन्टरबाट आज शुक्रबार विहानदेखि ई-सिम वितरण सुरु भएको हो ।

 

हाल फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरुका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क ई-सिममा परिवर्तन गर्न सकिने टेलिकमले जनाएको छ ।

 

त्यसैगरी नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमा ई-सिम उपलब्ध गराइने छ भने नयाँ प्रिपेड सिमकार्ड लिन चाहने ग्राहकलाई भने निकट भविष्यमा सो सिम उपलब्ध नगराइने कम्पनीका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।

 

ई-सिम सपोर्ट गर्ने मोबाइल सेट भएका नेपाल टेलिकमका पहिलेदेखिका ग्राहकले सो सिम लिनका लागि आवश्यक फारम भरेर बुझाउनु पर्नेछ।

 

ई-सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक (इम्बेडेड) सिम हो । ई-सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । यसबाट फोन गर्ने र डाटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिन्छ ।

 

ई(सिम प्रयोगमा आएपश्चात सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन । मोबाइल सेटबाहेक ई-सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिन योग्य विभिन्न प्रकारका डिभाइस (वेरेबल डिभाइस) हरुमा समेत प्रयोग गर्न सकिन्छ ।

हालका सबै प्रयोगकर्ताले समेत ई-सिम प्रयोग गर्न सक्नेछन् भने नयाँ प्रयोगकर्ताले पनि सहज तरिकाले ई-सिम लिन सक्ने प्रवक्ता अधिकारीले बताए ।