महिला साफ च्याम्पियनसिप: फुटबलको इतिहास रच्ने मोडमा नेपाल

काठमाडौं।दक्षिण एसियाली राष्ट्रको सर्वाधिक ठुलो महिला फुटबल प्रतियोगिता महिला साफ च्याम्पियनसिपले नयाँ च्याम्पियन टोली पाउने भएको छ ।

नेपालमा जारी छैटौं संस्करणको उपाधि विजेता टोली महिला साफको नयाँ च्याम्पियन राष्ट्र बन्ने छन् । महिला साफको १२ वर्षे इतिहासमा पहिलो पटक नयाँ च्याम्पियन राष्ट्र थपिने भएको हो ।

सन् २०१० बाट सुरु भएको महिला साफको पाँच संस्करणसम्म भारत एक्लो च्याम्पियन राष्ट्र हो । यस संस्करणमा भने भारतलाई नेपालले सेमिफाइनलमै १-० ले पराजित गरेको छ ।

भारतलाई हराउँदै फाइनल पुगेको नेपालले उपाधिका लागि बंगलादेशसँग खेल्नेछ । नेपाल र बंगलादेश जसले जितेपनि नयाँ च्याम्पियन बन्नेछ।

महिला साफ च्याम्पियनशिप फुटबलको बाह्र वर्षे इतिहासमा नेपाली राष्ट्रिय महिला टोलीले पहिलो पटक भारतलाई पराजित गरेको छ । सन् २०१० मा बङ्गलादेशबाट सुरुआत भएको महिला साफ च्याम्पियनशिपमा नेपालले यसअघि भारतलाई हराउन सकेको थिएन ।

  जीतसँगै नेपाल साफ च्याम्पियनशिपको पाँचौँपटक फाइनलमा पुग्यो । नेपालले भारतलाई १–० गोलअन्तरले पराजित गर्दै नयाँ इतिहास रच्न सफल भयो ।

नेपालको जीतमा निर्णायक गोल रश्मिकुमारी घिसिङले गरिन् । उनले खेलको पहिलो हाफको इन्जुरी समयमा प्रिति राईको पासमा नेपालका लागि निर्णायक गोल गरिन् ।

खेलको ३३औँ मिनेटमा प्रिति राईले पेनाल्टी क्षेत्रबाहिरबाट गरेको सुन्दर प्रहार पोष्टभन्दा माथिबाट बाहिरिएको थियो । पहिलो हाफमा अग्रता लिएसँगै नेपालले खेलको दोस्रो हाफको सुरुआतदेखि नै भारतलाई दबाबमा राखेको थियो।

 
खेलको ६४औँ मिनेमा प्रिति राईले डी बक्सभित्रबाट गरेको प्रहार पोष्ट नजिकैबाट बाहिरिएकाे थियो । त्यस्तै खेलको ७६औँ मिनेटमा भारतकी खेलाडी सौम्याको प्रहारलाई नेपालकी गोलरक्षक एन्जिलाले उत्कृष्ट बचाउ गरिन् ।

खेलको ८३औँ मिनेटमा सौम्याको क्रसमा करिब ६ यार्डबाट बल क्लियर नहुँदा भारतले गोल फर्काउने सुन्दर अवसर पाए पनि सफल भएन ।

साफ च्याम्पियनशिपमा नेपालले यसअघि चार पटक फाइनल र एक पटक सेमिफाइनलसम्मको यात्रा तय गर्दा भारतविरुद्ध जीत निकाल्न सकेको थिएन ।

घरेलु मैदान विराटनगरमा आयोजित पाँचौँ संस्करणको साफ च्याम्पियनशिपमा घरेलु समर्थकको साथ हुँदाहुँदै पनि नेपालले फाइदा लिन सकेको थिएन । तर यसपटक नेपालले करिब सात हजार दुई सय घरेलु समर्थकको पूरै लाभ उठायो ।

पाँच पटकको साफ च्याम्पियनशिपको विजेता भारत पहिलो पटक सेमिफाइनबाट बाहिरियो । साफ च्याम्पियनशिपमा जहिले पनि नेपाल भारतसँगै पराजित हुँदै आएको थियो ।

साफको सुरुआती चरणको फाइनल खेलमा पनि नेपाल भारतसँग १–० गोलअन्तरले पराजित हुँदै दोस्रो बनेको थियो । सन् २०१२ मा भएको दोस्रो संस्करणको फाइनल खेलमा पनि नेपाल भारतसँगै ३–१ गोलअन्तरले पराजित भएको थियो ।

यसैगरी सन् २०१४ मा भएको तेस्रो संस्करणको फाइनल खेलमा पनि नेपाल भारतसँग ६–० गोलअन्तरले पराजित हँुदै उपविजेता बनेको थियो।

सन् २०१६ मा भएको चौथो संस्करणको खेलमा भने नेपाल सेमिफाइनलबाटै बाहिरियो । त्यतिबेला नेपाल सेमिफाइनल खेलमा भारतसँग ३–१ गोलअन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

सन् २०१९ मा भएको पाँचौँ संस्करणमा पनि नेपालले फाइनल खेलमा ३–० गोलअन्तरले भारतसँग पराजित हुँदै दोस्रो स्थानमा चित्त बुझाएको थियो । साफ महिला च्याम्पियशिपको इतिहासमा अब नेपालले पहिलो पटक बङ्गलादेशलाई प्रतिद्वन्द्वी पाएको छ ।

 

घरेलु समर्थकका माझ नेपाल र बङ्गलादेशबीचको फाइनल खेल सोमबार हुनेछ । आजै भएको पहिलो सेमिफाइनल खेलमा बङ्गलादेशले भूटानलाई ८–० गोलअन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।

 

यसअघिका पाँचै संस्करणको उपाधि भारतले जितेको थियो । छटौँ संस्करणमा नयाँ राष्ट्र च्याम्पियन हुने निश्चित भएको छ । समूह चरणको खेलमा नेपालले भूटानलाई ४–० गोलअन्तरले पराजित गरेको थियो भने श्रीलङ्कालाई ६–० गोलअन्तरले हराएको थियो ।

 

खेलपछि नेपाली टोलीका मुख्य प्रशिक्षक कुमार थापाले बाह्र वर्षपछि इतिहास रच्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिनुभयो । उहाँले सबै खेलाडीको मेहनत र आम फुटबलपे्रमीको समर्थनमा नेपालले जीत दर्ज गरेको बताउनुभयो ।

 

भारतविरुद्धको खेलमा वर्षा बाधक नबन्दा जीत हात पार्न सहज भएको उहाँको प्रतिक्रिया थियो । मुख्य प्रशिक्षक थापाले नेपाली टोलीले पाएको अवसरलाई गुमाउन नदिएको उल्लेख गर्दै बङ्गलादेशविरुद्धको फाइनलमा पनि उत्कृष्ट खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

 

राष्ट्रिय फुटबल टोलीकी सदस्य प्रिति राईले घरेलु दर्शकले खेल जिताउन सहयोग पु¥याएको र आगामी खेलमा पनि उत्कृष्ट खेल प्रदर्शन गर्ने बताउनुभयो