स्वास्थ्य कार्यालयका कर्मचारी दैनिक १२ घण्टासम्म काम गर्न बाध्य,पारिश्रमिक थोरै

काठमाडौं। दैनिक चुलिँदो महँगी, बढ्दो आवश्यकता पनि स्वास्थ्य सेवा कार्यालय जाजरकोटका कर्मचारी न्यून तलबमा काम गर्न बाध्य छन्।

दैनिक १२ घण्टा काम गर्ने कर्मचारी तथा स्वास्थ्यकर्मीहरू न्यून पारिश्रमिकमा काम गर्दा घर खर्चसमेत नपुगेको पीडा पोखिरहेका छन्।

स्वास्थ्य कार्यालयमा कार्यरत ८ जना कर्मचारी तथा स्वास्थ्यकर्मीहरू तलब १३ हजार ५ सयदेखि २३ हजार ५ सयसम्मको तलबको भरमा १२ घण्टा काम गर्न बाध्य भएको बताएका छन्। अस्पताल विकास समितिसँग तलब बढाउन पटक पटक माग गरे पनि सुनुवाई नभएको ती कर्मचारीले बताएका छन्।

स्वास्थ्य सेवा कार्यालयमा कार्यरत अहेब लालबहादुर बस्नेतले मासिक १३ हजार ५०० तलब बुझ्दै आएका छन्। उनी दैनिक स्वास्थ्य सेवा कार्यालयमा १२ घण्टा काम गर्छन्।

त्यस्तै विनिता सिंहको पीडा पनि कम छैन। १२ घण्टाभन्दा बढी काम लगाएर सिंहलाई पनि १३ हजार ५०० तलब दिइएको छ।

दैनिक अस्पताल तथा स्वास्थ्य सेवा कार्यालयको सरसफाइदेखि अन्य काम गर्दै आएका कार्यालय सहयोगी रमेश ओलीको १५ हजार, धना शाहीको १३ हजार र परबीर नेपालीको १३ हजार तलब रहेको छ।

लेखा सहायक गोविन्द चन्दले १५ हजार, फार्मेसीका निराजन शाहीले मासिक २३ हजार ५०० तलब बुझ्ने गरेका छन्। ल्याब असिष्टेन्ट कमला रावलले १३ हजार ५०० बुझ्दै आएकी छिन। यी स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तोकिएको समयभन्दा बढी काम गराए पनि भत्तासमेत नदिने गरेको पाइएको छ।

दैनिक तोकिएभन्दा धेरै काम गर्नुपर्ने तर सेवा सुविधा भने निकै थोरै हुँदा आफूहरु मर्कामा परेको स्वास्थ्यकर्मीहरुको भनाई छ। ५ वर्षदेखि उनीहरूलाई श्रम शोषण हुँदै आएको पीडितको भनाई छ।

५० शय्याको स्वास्थ्य सेवा कार्यालयमा कार्यरत कर्मचारीको यो अवस्थाले जाजरकोटको स्वास्थ्य सेवाले परिचय कस्तो देला भन्ने प्रश्न उठिरहेको छ। बिरामीको पुर्जी शुरुमा १० रूपैयाँ लगाएको कार्यालयले अहिले ५० रूपैयाँ शुल्क लिँदै आएको छ।

स्वास्थ्य सेवा कार्यालयमा काम गर्दासमेत व्यक्तिगत पोशाक लगाएर काम गरिरहेको पीडितले बताएका छन्। महँगी भत्ता र दुर्गमको सेवा अन्य कर्मचारीले पाए पनि ५ वर्षदेखि स्वास्थ्य सेवा कार्यालयमा कार्यरत यी ८ जनाले केही पनि नपाएको बताएका छन्।

यो विषयमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डम्बर सिंहलाई सम्पर्क गर्न खोज्दा उनको मोवाइल अफ भएका कारण प्रतिक्रिया लिन सकिएन।