अत्याधुनिक सेवा विस्तार गर्दै भरतपुर वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल

प्रेम प्रसाद कडेल-

चितवन।चितवनको वी.पी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आफ्नो सेवा सुविधा विस्तारलाई तीव्रता दिएको छ। सो अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले पत्रकार सम्मेलन मार्फत जानकारी दिए।

सिओटु माइक्रोस्कोप लेजर मेसिन खरिद गरेको र उक्त मेशिनको प्रयोगले मुख तथा श्वासनलीको क्यान्सरको अत्याधुनिक प्रविधिबाट अप्रेसन सेवा प्रदान गरिरहेको छ।

यसैगरी खाना नली र श्वास  नलीमा रहेको समस्याको इन्डोस्कोपी युसजी गरी क्यान्सर रोगको निदान गर्ने इबियुएस उपकरणबाट काम अगाडि बढाइएको जसद्वारा समयमै क्यान्सरको निदान सम्भव भएको छ।

ग्लोबल टेन्डर आह्वान गरी रेडियोथेरापीको लिनियर एक्सिलेटर मेशिनको खरिद गरी सञ्चालनको अन्तिम तयारी गर्नुका साथै तिन वर्षदेखि बिग्रेको गाना क्यामेरा पुनः सञ्चालनमा आएको निर्देशक डा. गौतमले बताए।

त्यसैगरी सिटीस्क्यानका बिरामीको चापलाई मध्यनजर गर्दै १२८ स्लाइस क्षमताको थप अत्याधुनिक प्रविधिको मेशिनको खरिद गरी सञ्चालनमा ल्याएको छ।

अस्पताल आउने बिरामीलाई सहज सूचना प्रवाहको सुनिश्चितता गर्न अस्पतालको विभिन्न स्थानमा डिजिटल डिस्प्ले जडान गरिएको छ। प्रयोगशालाको रिपोर्ट सेवाग्राही आफैले मोबाइलमा हेर्न मिल्ने बनाउनुका साथै ईन्डोर प्रयोगशालाको बिस्तार गरी बिरामीको चौबिसै घण्टा रिपोर्ट आउने प्रबन्ध मिलाइएको बताए।

सामाजिक उत्तरदायित्व अन्तर्गत पाठेघरको मुखको क्यान्सरबाट सुरक्षा प्रदान गर्ने एचभिपी खोप खरिद गरी माडी र भरतपुर महानगरीय ३४ वटा खोप केन्द्रमार्फत ३४०० भन्दा बढी किशोरीहरुलाई सेवा दिइएको छ। साथै समुदायस्तरमा पुगेर क्यान्सर सचेतना कार्यक्रम सम्पन्न भएको छ।

शैक्षिक कार्यक्रम अन्तर्गत चिकित्सा शिक्षा आयोगबाट सर्जिकल अन्कोलोजी विषयमा सुपरस्पेशियालिटी अध्यापन गराइरहेको साथै यस वर्ष १३ जना विद्यार्थीको एक वर्षे स्पेशियालिटी फेलोशिप भर्ना प्रक्रिया टुंगिएको कार्यकारी निर्देशक डा.गौतमले जानकारी दिए।

इमरजेन्सी वार्डको बिरामीको चौबिसै घन्टा सेवा सुविधा सहजताका लागि पुनर्निर्माण, बिरामीलाई लाइनमा बसी टिकट काट्न नपर्ने गरी अनलाईन एपको व्यवस्था गरिएकाे डा.गौतमले बताए।त्यस्तै अस्पताल भित्र विभिन्न देखापर्ने गतिविधि निरिक्षणका लागि ५४ ठाउँमा सिसिटिभी क्यामेरा जडान गरिएकाे उनले बताए। 

लायन्स क्लब ३२५ बी २ , भिम पाठक र क्यान्सर सेवा समाजको संयुक्त आयोजनामा एक अत्याधुनिक बिरामी कुरुवा घर निर्माण शुरु गरिएकाे छ। वार्डहरुको स्तरोन्नति गरी भेन्टिलेटर, हाइफ्लो मेशिन र अक्सिजन कन्सनटेटर जडान गरिएको, फार्मेसी र राजश्व उपशाखाको स्तरोन्नति गरिएको छ।

अस्पतालमा नेपाल सरकारको जटिल रोगको उपचार सहायता विपन्न एवं बिमा कार्यक्रम २४ सै घण्टा नियमित सेवा दिइरहेको छ।

विपन्न नागरिक सहायता अन्तर्गत संघबाट प्रदान गर्ने १ लाख सेवाका अलावा बागमती र गण्डकी प्रदेशबाट ५० हजार सेवा र लुम्बिनी प्रदेश सरकारको २ लाख प्रदान गर्ने कार्यक्रम अन्तर्गत सम्झौतासहित सेवा सुविधा विस्तारलाई तीव्रता दिएको अस्पतालले जनाएकाे छ।

मुखको क्यान्सरको बिरामीको उपचारलाई ध्यान दिदै डेन्टल सेवा सञ्चालनका आवश्यक प्रक्रिया पूरा गरिएको छ। समयसापेक्ष सेवा प्रदान गर्न ५० सैयाको ईलेक्ट्रिक आइसियु बेड अत्याधुनिक प्यासेन्ट मनिटर जोडिएको छ।

अस्पतालका उप निर्देशक डा. कृष्णसागर शर्माले अस्पतालका व्यवस्थित नेटवर्किङ गरी छिटोछरितो सेवा प्रदान गरिरहेको, मोलिक्युलर ल्याब स्थापना गरी हालसम्म ८५ हजारभन्दा बढीको पिसिआर परिक्षण, हाइफ्लो अक्सिजन अपग्रेड गरी १४२ बेडमा सेवा, अक्सिजन अभाव हुन नदिन लिक्विड अक्सिजन टंयाक जडान, पानीको अभाव हुन नदिन डिप बोरिङ सञ्चालन गरिएको बताए।

अस्पतालभित्रको बागवानीको स्तरोन्नति, विकास एवं संरक्षणका लागि बागमती प्रदेश सरकारको सहकार्यमा फलफूल बगैंचा तथा बागमती विकास संरक्षण कार्यक्रम सञ्चालनमा ल्याएको उपनिर्देशक डा. शर्माले जानकारी दिए।

अस्पतालको आम्दानी विगत वर्षमा भन्दा १० करोड आयमा वृद्धि तथा खर्चमा ३० प्रतिशतले कमी आएको आर्थिक शाखा प्रमुख वरिष्ठ लेखा अधिकृत पिताम्बर उपाध्यायले जानकारी दिए।

नर्सिङ कलेज माविगत वर्षहरुमा २० जना बिएनएसका विद्यार्थीबाट पढाई सञ्चालन भएकोमा हाल एक शैक्षिक सत्रको कार्यक्रममा ४० जना विद्यार्थीले अध्ययन गरिरहेक छन्।  

अस्पताल सञ्चालक समितिका अध्यक्ष डा. निर्मल लामिछानेले क्यान्सर रोग अनुसन्धानका क्रममा अत्यावश्यक पेट स्क्यान मेशिनको सरकारसँग समन्वय गरिएको, क्यान्सर रोगको निदान गर्ने जनशक्ति उत्पादन गर्ने उद्देश्य प्राप्तिका निम्ति शैक्षिक कार्यक्रमको बृहतर वृद्धि तथा प्रतिष्ठानको माग गरिएको बताए।

यसका अतिरिक्त क्यान्सर अस्पतालमा बिरामीको पेट स्क्यान मेशिन जडान भइ अत्याधुनिक प्रविधिको सेवा प्रारम्भ हुनेमा आशावादी रहेको डा. लामिछाने बताउदैं यसको समुज्वल भविष्यको कामना गरे। क्यान्सर अस्पतालमा नेपाल तथा भारतका बिरामी उपचारका लागि आउने गरेकाे उनले बताए।

यो राज्यको गहना वी पी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा यस वर्ष ५० नविन कार्य सम्पन्न भएको कार्यकारी निर्देशक डा. देजकुमार गौतमले जानकारी दिदै पत्रकार सम्मेलनमा उपस्थित सम्पूर्ण पत्रकार जगतलाई हार्दिक आभारसहित धन्यवाद व्यक्त गरेका थिए।

वार्षिकोत्सव समारोहको पूर्व सन्ध्यामा स्वास्थ्यका लागि खेलकुद सप्ताह कार्यक्रमसहित रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ।