नेपाल टेलिकमले ल्यायो दशैं लक्षित विभिन्न अफर,अनलिमिटेड डेटादेखि रिचार्जमा बोनससम्म

काठमाडौं । नेपाल टेलिकमले भोलि आइतबारदेखि लागू हुने गरी विभिन्न डेटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको दशैं अफर उपलब्ध गराउने भएको छ।यो अफर असोज २३ गतेसम्म उपलब्ध हुनेछ।

डेटा प्याक अन्तर्गत रु. २९४ मा २० जीबी डेटा १० दिनभित्र र रु. ९८ मा ६ जीबी डेटा तीन दिनभित्र प्रयोग गर्न सकिने अफर उपलब्ध हुनेछ।

त्यसैगरी एक दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएसको डेटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक जम्मा रु. ४९ मा उपलब्ध हुनेछ ।

यी प्याकहरु जुनसुकै समय (अल टाइम) प्रयोग गर्न सकिन्छ ।यसैगरी अफर प्राप्त हुने अवधिमा एमपोसमार्फत रिचार्ज गर्दा बोनसको रुपमा डेटा प्याक उपलब्ध गराइने कम्पनीले जनाएको छ।

रु.२०० देखि रु. ४९९ सम्म रिचार्ज गर्दा दुई दिनभित्र प्रयोग गर्न सकिने ५०० एमबी र रु.५०० भन्दा बढीको रिचार्ज गर्दा चार दिनभित्र प्रयोग गर्न सकिने १,०२४ एमबी डेटा प्याक उपलब्ध हुनेछ।

यसैगरी पहिलो पटक भोल्टे सेवा सब्सक्राइब गर्ने सेवाग्राहीका लागि २८ दिनसम्म प्रयोग गर्न सकिने २०० मिनेटको निःशुल्क भोल्टे सेवा पनि उपलब्ध गराइएको छ। उल्लिखित प्याकेजहरु प्राप्त गर्नका लागि ग्राहकले *१४१५#  डायल गर्नुपर्दछ।

कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन र सेवा खरिद गर्न सकिने जनाइएको छ।