मनास्लु आधार शिविरमा हिमपहिरो: उद्धारका लागि पुग्यो हेलिकप्टर,विस्तृत विवरण आउन बाँकी

काठमाडौं। गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएको छ । मनास्लु हिमालको तेस्रो र चौथो क्याम्पको बीचमा हिमपहिरो गएको हो।

हिमपहिरोमा परी केही व्यक्ति घाइते भएको भनिए पनि विस्तृत विवरण प्राप्त नभएको पर्यटन विभागले पुष्टि गरेको छ।हिमपहिरो गएको पुष्टि गरे पनि अहिले त्यहाँ रहेका व्यक्तिसँग सम्पर्क हुन नसकेको विभागले जनाएको छ।

हिमपहिरोका कारण फसेका आरोहीको उद्धारका लागि काठमाडौंबाट कैलाश एयरको हेलिकप्टर सामागाउँ पुगेको छ।सामागाउँ उत्तरी गोरखाको अन्तिम गाउँ हो।

अहिले मनास्लु आधार शिविरको मौसम सफा नभएकाले तत्काल घटनास्थलमा पुग्न नसकिए पनि उद्धारका लाई हेलिकप्टर तथा उद्धारकर्मीहरु स्ट्याण्ड बाइ अवस्थामा राखिएको विभागले जनाएको छ।

यसपटक शरद यामका लागि १५ वटा हिमाल आरोहण गर्न गत शुक्रबारसम्म पर्यटन विभागले ५ सय ५ जना विदेशीलाई अनुमति दिएको छ। ५८ वटा आरोहण दलमा १ नेपालीसहित ५ सय ६ जनालाई अनुमति दिएको छ।

यसपटक सबैभन्दा धेरै गोरखाको मनास्लु हिमाल चढ्न ३८ वटा आरोहण दललाई अनुमति दिइएको छ।