वी.पी.कोइराला मेमोरियल क्यान्सर अस्पतालको २३ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

प्रेम प्रसाद कडेल-

चितवन। वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालको तेइसौं वार्षिकोत्सव तथा १८ ओैं राष्ट्रिय क्यान्सर सतर्कता दिवस भव्यताका साथ सम्पन्न भएको छ। सो कार्यक्रमको सञ्चालन नर्सिङ प्रमुख सबिता पन्थीले गरेकी थिइन् साथै स्वागत मन्तव्य अस्पतालका उप निर्देशक डा. कृष्णसागर शर्माले गरेका थिए।

कार्यक्रमका सभाध्यक्ष अस्पताल सञ्चालक समितिका अध्यक्ष डा. निर्मल लामिछाने, प्रमुख अतिथि नेपालका माननिय स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङ्ग, विशिष्ट अतिथि माननीय मन्त्री उमेश श्रेष्ठ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अतिथिहरु कार्यकारी निर्देशक डा. देजकुमार गौतम, सञ्चालक समितिका सदस्य डा. विनय ठाकुर, डा. सुनिता सुन्दास, निशा अधिकारी, चाइनिज मेडिकल टिम प्रमुख भरतपुर अस्पतालका मेसु प्रा. डा. कृष्ण प्रसाद पौडेल, भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारी, नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष डा. शिवजी पौडेल, चितवन मेडिकल कलेजका डाइरेक्टर प्रा. डा. दयाराम लम्साल, नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेकपा एमाले जिल्ला उपाध्यक्ष कमलराज पाठक, नेकपा माओवादी केन्द्रका संयोजक रामचन्द्र अधिकारी, नेकपा समाजवादीका जिल्ला अध्यक्ष कृष्णराज लब्ली, राप्रपा नेपाल चितवनका उपाध्यक्ष जिवलाल पुरी लगायतका थिए।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै राप्रपा नेपालका उपाध्यक्ष जिवलाल पुरीले क्यान्सर अस्पतालको अझै विकास एवं विस्तारको आवश्यकता भएको बताए। नेकपा समाजवादीका कृष्ण राज लब्लीले विगत जे जे भए पनि भविष्य उज्वल बनाउन सक्रियतापूर्वक लागौं भन्दै शुभकामना व्यक्त गरे।

नेकपा माओवादी केन्द्रका संयोजक रामचन्द्र अधिकारीले राज्यको गहना क्यान्सर अस्पतालको विकास एवं सुशासनमा जोड दिदै आफु नि:शर्त सहयोग गर्न तयार रहेको साथै क्यान्सर अस्पताललाई अध्ययन र अनुसन्धानको केन्द्रका रूपमा विकास सम्भव भएको बताए।

नेपाली कांग्रेसका सभापति राजेश्वर खनालले वी पी को आदर्श पक्डेर हिडे मात्र क्यान्सर अस्पतालको भविष्य समुज्वल हुने भन्दै अस्पताल सञ्चालकहरुले सम्पूर्ण कर्मचारी वर्गमा विना हिच्किचाहट परिवारको अभिभावकको भूमिका निर्वाह गर्न आग्रह गरे।

नेकपा एमालेका उपाध्यक्ष कमलराज पाठकले यो देशमा हरेक सरकारी संरचनामा लुटखस्यौट बढेकोले जनताको पक्षमा काम गर्ने कोही नभएको गुनासो व्यक्त गरे। यो संस्था नेपालको एक मात्र सरकारी क्यान्सर अस्पताल भएकोले यसको समृद्धि नै बिरामीको उपचारलाई बलियो आधार हुने बताए।

कार्यक्रममा कुरुवा घर मा विशिष्ट चन्दादाता भिम पाठक, अस्पतालका निवृत्त कर्मचारी चेतनाथ बराल लगायतलाई सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले सम्पूर्ण वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सञ्चालक समितिको बैठकले कर्मचारीको हितमा वृति विकासको निर्णय र कर्मचारी कल्याणकोष सुविधा पन्ध्र दिनबाट एक महिना बनाएको बताए।

कार्यक्रममा विशिष्ट अतिथि नेपाल सरकारका माननीय मन्त्री उमेश श्रेष्ठले चितवन स्वास्थ्य र शिक्षाको हब बनाउने बताउँदै क्यान्सर अस्पतालमा प्रचुर सम्भावना रहेको बताउँदै सकारात्मक ढंगले सोच्न सबै सबैमा आग्रह गरे।

कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङ्गले देशको क्यान्सर अस्पतालमा एक पेट स्क्यान मेशिनको खरिद गर्ने बिषयमा छलफल भएको बताए।

क्यान्सर अस्पतालको भविष्य उज्वल हुने बताउदैं यसको अत्याधिक सेवा विस्तारले आफूलाई खुशी लागेको विचार व्यक्त गरे। कार्यक्रममा सभाध्यक्ष डाक्टर निर्मल लामिछानेले क्यान्सर अस्पतालमा सत्तरी प्रतिशत जनताको क्यान्सर उपचार मा पेट स्क्यान मेशिन र बोन म्यारो ट्रान्सप्लान्ट सुविधा विस्तारका लागि सरकारले पहल गर्न आग्रह गरे।

उक्त कार्यक्रममा खेलकुदका विजयी खेलाडी र समुहलाई पुरस्कार वितरण एवं समापनपछि एक भव्य सांस्कृतिक र सांगितिक साँझको कार्यक्रम सम्पन्न भएको थियो।