बझाङ केन्द्रबिन्दु भएर पुनः ५.४ म्याग्निच्युडको भूकम्प

काठमाडौं। शनिबार साँझ पुनः भूकम्पको धक्का महसुस गरिएको छ।

राति ८ बजेर १२ मिनेटमा सुदूरपश्चिमका बाजुरा, बैतडी, दार्चुला, डडेल्धुरा, अछाम, कञ्चनपुर, कैलाली लगायत जिल्लामा भूकम्पको धक्का महसुस गरिएको हो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माका अनुसार बझाङको पटादेवल केन्द्रबिन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प गएको हो।भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ।

यसअघि कात्तिक २२ गते राति ९ बजेर ७ मिनेटमा ५.७ र राति ९ बजेर ५६ मिनेटमा ४.१ र कात्तिक २३ गते बिहान २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु भएर ६.६ रेक्टर स्केलको भूकम्प गएको थियो। ६.६ रेक्टर स्केलको भूकम्पमा परेर छ जनाले ज्यान गुमाएका थिए।रासस