नेपाल टेलिकमका फोरजी प्रयोगकर्ता दोब्बरले बढे, एनसेलको एक चौथाई मात्र वृद्धि

काठमाडौं ।नेपालमा फोरजी प्रयोगकर्ता १ करोड ८५ लाख ४४ हजार ४५० पुगेका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको साउन महिनाको आईएमएस रिपोर्ट अनुसार नेपालभर फोरजी प्रयोगकर्ता १ करोड ८५ लाख ४४ हजार ४५० पुगेका हुन्।

गत वर्ष २०७८ को साउनमा फोरजी प्रयोगकर्ता १ करोड १० लाख ३४ हजार ३५४ थिए। एक वर्षको अवधिमा फोरजी प्रयोगकर्ता ७५ लाख १० हजार ९६ अर्थात ६८ प्रतिशतले बढेका छन्।

नेपालमा सञ्चालमा रहेका तीन ओटा दूरसञ्चार सेवा प्रदायकले फोरजी सेवा उपलब्ध गराउँदै आएका छन्।

ग्राहक संख्याका आधारमा नेपालमा सबैभन्दा बढी फोरजी प्रयोगकर्ता नेपाल टेलिकमको रहेको छ। नेपाल टेलिकमको फोरजी प्रयोगकर्ता २०७९ को साउनमा १ करोड १५ लाख ५० हजार १८१ रहेका छन्।

गत वर्षको साउनमा नेपाल टेलिकमको फोरजी प्रयोगकर्ता ५३ लाख ४० हजार ३५३ थिए। एक वर्षको अविधिमा नेपाल टेलिकमको फोरजी प्रयोगकर्ता ६२ लाख ९ हजार ८२८ ले अर्थात ११६.२८ प्रतिशतले बढेको छ।

दोस्रो स्थानमा रहेको एनसेलको फोरजी प्रयोगकर्ता ६८ लाख ५९ हजार ७७३ छन्। गत वर्ष एनसेलको फोरजी प्रयोगकर्ता ५५ लाख ११ हजार ३८६ थियो। एक वर्षको अवधिमा एनसेलको फोरजी प्रयोगकर्ता १३ लाख ४८ हजार ३८७ ले अर्थात २४.४६ प्रतिशतले बढेको छ।

नेपाल टेलिकम र एनसेलको फोरजी ग्राहक बढ्दा अर्को दूरसञ्चार सेवा प्रदायक स्मार्टले भने ग्राहक गुमाइरहेको छ। एक वर्षको अवधिमा स्मार्टले २६.३४ प्रतिशतले ग्राहक गुमाएको छ।

साउन मसान्तसम्म स्मार्ट टेलिकमको फोरजी ग्राहक १ लाख ३४ हजार ४९६ छन्। गत वर्ष १ लाख ८२ हजार ६१५ ग्राहक रहेका थिए। एक वर्षको अवधिमा स्मार्ट टेलिकमको ग्राहक घटेको ग्राहक ४८ हजार ११९ ले घटेको छ।