एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप पाँच घाइते

सांकेतिक तस्वीर

काठमाडौं। महोत्तरीमा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ। महोत्तरीको रामगोपालपुर नगरपालिकाबाट मदिरा सेवन गरेर सम्सी पुगेका एमालेका कार्यकर्ताले आक्रमण गरेको बताइएको छ।

एमाले कार्यकर्ताको कुटाइबाट माओवादीका पाँच जना घाइते भएका छन् । ‘मदिरा सेवन गरेका युवाहरुले भोट एमालेलाई नै हाल्नुपर्ने धम्की गर्दै आक्रमण गरेको स्थानीयले बताएका छन्।

आक्रमणमा परी घाइते हुनेमा अनिल मण्डल, रामदरेस मण्डल, रामदुलारी मण्डल, राधिका मण्डल, रायवीर मण्डललगायतका रहेका छन्।

उनीहरुमध्ये एकजनाको भारतको सीतामाढी र अन्य चारजनाको रामगोपालपुरको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको स्थानीयले बताएका छन्।

रामगोपालपुरका विजय यादव, रामवली यादव, अनिल यादव र रामो यादवको नेतृत्वमा झन्डै ४० जना युवा सम्सीको लक्ष्मीनिया प्रवेश गरेर कुटपिट गरेको स्थानीयको भनाइ छ ।

एमाले जिल्ला इन्चार्ज सरोज यादवले घटनाको विषयमा आफूलाई जानकारी नभएको बताए । माओवादीले भने घटनाको भत्सर्ना गरेको छ।

माओवादीका जिल्ला इन्चार्ज राजु खड्काले घटना निन्दनीय भएको वताए । आक्रमण जसले गरेको भएपनि दोषीउपर छानबिन गर्न माओवादीले माग गरेको छ।