बाजुराका ७० मध्ये ४ वटा मतदानस्थल मात्र सामान्य

काठमाडौं। मंसिर ४ गते हुने चुनावलाई लक्षित गरेर सुदूरपश्चिम प्रदेशका सुरक्षा प्रमुखले बाजुरामा अनुगमन गरेका छन्।

गत वैशाखमा भएको स्थानीय चुनावमा बाजुराको बूढीगंगामा पहिलो चरणमा चुनावमा धाँधली भएको भन्दै दोस्रो चरणमा चुनाव भएको थियो।

स्थानीय चुनावमा भएका गतिविधि र विगतका क्रियाकलापलाई आधार मानेर बाजुरालाई अतिसंवेदनशील जिल्लाका रुपमा राखिएको छ।

बाजुरा जिल्लाका ७० मध्ये ४ वटा मतदानस्थल मात्रै सामान्य अवस्थाका छन्।

४३ वटा मतदान केन्द्र अतिसंवेदनशीलको सूचीमा बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बिष्टले जानकारी दिए । यस्तै २३ वटा मतदानस्थल संवेदनशील रहेका विष्टले बताए।

प्रतिनिधि सभाका लागि एक र प्रदेश सभाका लागि दुई सदस्यको निर्वाचन हुने बाजुरा जिल्लामा ७० मतदानस्थलमा ११२ मतदान केन्द्र छन्।

शान्ति सुरक्षाको संवेदनशीलतालाई बुझ्न सुदूर पश्चिम प्रदेश सरकारका सचिव नारायणप्रसाद दुवाडी शर्मा, प्रहरी नायव महानिरीक्षक मोहन आचार्य र सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक विश्वकुमार भट्टराई बाजुरा पुगेका थिए।

चुनावलाई स्वतन्त्र निष्पक्ष, भयरहित र शान्तिपुर्ण वातावरणमा सम्पन्न गर्न अनुमगन तथा निरीक्षण भएको नेपाली सेनाको श्री दुर्गाभञ्जन गुल्मका गुल्मपति सेनानी दिवाकर खड्काले बताए।

अनुगमनमा पुगेको टोलिले निर्वाचनमा खटिएका सुरक्षाकर्मीलाई निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि आवश्यक सबै उपाय लगाउन निर्देशन दिएको छ।