ललितपुर ३ का मतदाताको तोसिमासँग अपेक्षा: शिक्षा र स्वास्थ्यको विकृति अन्त्य,रोजगारी सृजना,भ्रष्टाचार निर्मूल

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीकी डा.तोसिमा कार्की ललितपुर क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यमा ३१ हजार १३६ मतसहित विजयी भइन्।

उनी निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्का र ऊर्जा मन्त्रीसमेत रहेकी माओवादीकी उपमहासचिव पम्फा भुसाललाई पछि पार्दै तोसिमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइन्।

नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा.कार्कीले पाँच वर्षमा देशवासीले गर्व गर्न लायक राजनीतिज्ञ बन्ने उद्घोष पनि गरिसकेकी छिन्।

कार्कीले बिहीबार मुख्य निर्वाचन अधिकृतबाट निर्वाचित भएको प्रमाणपत्र बुझ्दै मतदाताहरू समक्ष राखेको प्रतिबद्धताहरू पूरा गरेपछि मात्रै वास्तविक विजय उत्सव मनाउने बताइन्।

यसैबीच डा तोसिमालाई मतदान गरेर निर्वाचित गराउने मतदाताको चाहाना चाँहि के छन् त? पुराना दल र पुराना प्रतिनिधिको विकल्प खोज्दै युवा जोस,जाँगर बोकेर अघि बढेकी कार्कीलाई मतदान गरेर सांसद बनाएका मतदाताहरू डा कार्कीबाट के चाहन्छन् त?  

 मतदाताले ठुलो आशा र अपेक्षा भने राखेको देखिँदैन। एउटै आशयमा उनीहरू भन्छन्, ‘देशमा भ्रष्टाचारको अन्त्य होस्। विकास र समृद्धिले लय लिन सकोस्।

शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएको विकृतिको अन्त्य भई देशमा सुशासन स्थापित हुन सकोस् । संसद् डा.तोसिमाको भूमिका यिनै कुरामा केन्द्रित रहोस् भन्ने चाहान्छन्।

अर्कातर्फ एक सांसदको भूमिका के हुन सक्छ भन्ने विषयमा उति जानकारी नभएका मतदातामाझ भने ठुलै अपेक्षा देखिन्छ। उनीहरू भन्छन्, ‘सडक, खानेपानी लगायतका विषयमा उहाँले काम गर्नु हुन्छ भन्ने विश्वास छ।

शिक्षा, स्वास्थ्य र रोजगारी सृजना जस्ता विषयमा उनको ठुलो भूमिका रहने छ भन्नेमा मतदाता विश्वस्त छन्। समग्रमा हाम्रा दैनिक जीवनका समस्यामाथि डा.तोसिमा कार्कीले उल्लेख्य काम गर्नुपर्ने मतदाताको बुझाइ छ। र त्यही जिम्मेवारीका साथ निर्वाचित गराएको उनीहरू बताउँछन्।