यू-१९ राष्ट्रिय क्रिकेटमा सुदूरपश्चिमको दोस्रो जित

काठमाडौं । वाईवाई यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लगातार दोस्रो जित निकालेको छ । सुदूरपश्चिमका मध्यगतिका बलर आकाश चन्दले सर्वाधिक पाँच विकेट लिंदै लुम्बिनीलाई सस्तैमा समटे ।

टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले ४९.५ ओभरमा अलआउट हुँदै १८० रन बनाएको थियो । १८१ रनको लक्ष्य पाएको लुम्बिनी २१ ओभरमा ८० रन बनाउँदै अलआउट भयो ।

आकाश चन्दले ३ ओभर बलिङ गर्दै १३ रन खर्चेर ५ विकेट लिए । लुम्बिनीका लागि ओपनर आकाश त्रिपाठीले सर्वाधिक २२ रन बनाए । उनले २३ बल खेल्दै ४ चौका प्रहार गरे।

लुम्बिनीका ओपनर देव खनालले १३ रन बनाउँदै कैलाश ऐरको बलमा विकेटकिपर सुनिल चन्दको हातबाट क्याच भए । त्यसपछिका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

छैटौं क्रमका ब्याटर मनोज मगरले ११ रन बनाए । अन्य कुनै पनि खेलाडी क्रिजमा टिक्न सकेनन् । सुदुरपश्चिमका लागि हेमन्त धामीले ३ र कैलाश ऐेरले १ विकेट लिए ।

त्यसअघि मूलपानी क्रिकेट मैदानमा ब्याटिङमा उत्रेको सुदूरपश्चिमका लागि दीपक बोहराले सर्वाधिक ५४ रनको अर्धशतकीय पारी खेलेका थिए । उनले ७३ बल खेल्दै ८ चौका प्रहार गरे।

ओपनर दीपक बोहराले २४ बल खेल्दै ४ चौका प्रहार गरेर १७ रन बनाए । अर्का ओपनर विशाल ऐरले १६ रन बनाउँदै निर्मल गुरुङको बलमा देव खनालको हातबाट क्याच भए।

गजेन्द्र बोहराले १९ रन बनाए । नरेन साउद १७ रन बनाउँदै रनआउट भए । हेमन्त धामी १५ रन बनाउँदै देव खनालको हातबाट क्याच भए ।

लुम्बिनीका लागि कप्तान विशालविक्रम केसीले सर्वाधिक ३ विकेट लिए । नर सार्की र निर्मल गुरुङले समान २र२ विकेट र दुर्गेश गुप्ता र रमेश कुर्मीले १र१ विकेट लिए ।