बलात्कार आरोप लागेका न्यायाधीशले दिए ‘चोरी’को उजुरी,प्रहरीले थाल्यो अनुसन्धान
काठमाडौं। कपिलवस्तुका जिल्ला न्यायाधीश भुवन गिरिमाथि एक जना महिलाले बन्धक बनाएर यौन शोषण गरेको आरोप लगाएकी छन्। आफूमाथि बलात्कार आरोप लागेपछि न्यायाधीश गिरीले ती महिला विरुद्ध पनि चोरेको आरोप लगाएका छन्।
न्यायाधीश गिरीले महिलाविरुद्ध चोरीको उजुरी दिएको कपिलवस्तुका एसपी प्रेम बहादुर बस्नेतले बताए । उनले भने–‘महिलाले बलात्कारको उजुरी दिनुभएको छ, दुवै उजुरीबारे प्रारम्भिक अनुसन्धान सुरु गरेका छौँ।
पीडित महिलाले सुरुमा दिएको बलात्कारको जाहेरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको थियो। प्रहरीले जाहेरी दर्ता नगरेपछि ती महिलाले एक साताअघि राष्ट्रिय मानव अधिकार आयोग र महिला आयोगमा उजुरी गरिन्।
दुवै आयोगले प्रहरीलाई जाहेरी दर्ता गर्न पत्राचार गरेका छन्। न्यायाधीश गिरीले आफूलाई ५ वर्षदेखि बन्धक बनाएर यौन शोषण गरेको महिलाको आरोप छ। पीडित महिला २०७५ देखी न्यायाधीशसँगै थिइन्।
आफूविरुद्ध उजुरी गर्ने महिलाविरुद्ध पनि चोरीको आरोप लगाएर न्यायाधीश गिरी लामो बिदामा बसेका छन्। बलात्कार मुद्दाबारे अनुसन्धान गर्न राज्यका विभिन्न निकायबाट लेखेर आएको एसपी बस्नेतले जानकारी दिए। उनले भने–‘प्रारम्भिक अनुसन्धान गर्दै छौँ,अहिले पक्राउ गर्नुपर्ने अवस्था छैन।