कर्णाली प्रदेशबाट कुन दलबाट को–को बने समानुपातिक सांसद ?

काठमाडौं। नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलहरुले प्रतिनिधिसभाको समानुपातिक सांसदको टुङ्गो लगाउँदा कर्णालीबाट पनि उल्लेख्य प्रतिनिधित्व भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाहेकका दलले प्रदेशसभातर्फ पनि कर्णालीमा समानुपातिकको टुंगो लगाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले भने प्रदेशसभातर्फ निर्वाचनमा भाग लिएको थिएन ।

प्रतिनिधि सभातर्फ हुम्लाकी हुम्लाकी छिरिङ ल्यामु लामा तामाङ माओवादीबाट समानुपातिक सांसद चयन भएकी छन् । यसैगरी एमालेबाट दैलेखकी सूर्य कुमारी श्रेष्ठ चयन भएकी छन् । एमालेबाट नै रुकुम पश्चिमका चन्द्रबहादुर विश्वकर्मा पनि दलित कोटाबाट समानुपातिक सांसद बनेका छन् ।

कांग्रेसबाट जुम्लाकी कान्तिका सेजुवाल, जाजरकोटकी मैना रावल कार्की, दैलेखकी सीताकुमारी राना चयन भएकी छन् । सेजुवाल र मैना खस आर्य पिछडिएको क्षेत्रबाट सांसद चयन भएका हुन् भने राना महिला खस आदिवासी कोटाबाट बनेकी हुन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट जुम्लाकी बिनिता कठायत प्रतिनिधि सभामा समानुपातिक सांसद चयन भएकी छन् ।

प्रदेश सभातर्फ
कर्णाली प्रदेश सभातर्फ समानुपातिक तर्फ १६ जनामध्ये ११ जना सांसद चयन भएका छन् । एमाले र कांग्रेस र समाजवादीले टुङ्गो लगाइसक्दा नेकपा माओवादी केन्द्रले भने टुङ्गो लगाएको छैन । यस्तै राप्रपाले टुङ्गो लगाएपनि सांसदको नाम भने सार्वजनिक भएको छैन ।

कांग्रेसबाट सुर्खेत वीरेन्द्रनगरकी जानकी सिंह, दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाकी इन्द्राकुमारी शाही, हुम्लाकी बिजया बुढा, सल्यानकी लक्ष्मी सुनार (दलित) र जनजातिबाट सुर्खेतकी बलिमाया बुढा समानुपातिक सांसद बनेकी छन् ।

यस्तै एमालेबाट कालिकोटकी दक्षिणा शाही, रुकुम पश्चिमकी तुलसा मल्ल, हुम्लाका कलबहादुर हमाल, दैलेख आठबीस नगरपालिकाकी गमता विक र सुर्खेतकी नन्दा गुरुङ चयन भएका छन् ।

नेकपा (एकीकृत समाजवादी) बाट रुकुम पश्चिमकी कल्याणी खड्का समानुपातिक सांसद चयन भएकी छन् । कर्णालीमा प्रदेश सभामा समाजवादीले प्रत्यक्षतर्फ भने कुनै सिट ल्याउन सकेको थिएन ।