मोबाइलबाटै गर्भवतीलाई खोप लगाउने सूचना
काठमाडौं ।कालीकोट जिल्लाको रास्कोट नगरपालिकाले गर्भवती महिला र नवजात शिशुको स्वास्थ्यमा सुधार ल्याउने सफ्टवेयरको विकास गरेको छ। स्वास्थ्य क्षेत्रको सुधारका लागि काम गर्न सहज होस् भनेर नगरपालिकाले एसएमएस अलर्ट सफ्टवेयर सञ्चालनमा ल्याएको हो।
यो सफ्टवेयरले नगरका अन्य सूचना पनि प्रवाह गर्नेछ। नगरपालिकाले ‘मेयर हेल्थ केयर’ कार्यक्रमअन्तर्गत गर्भवती र बालबालिकालाई स्वास्थ्यको पहुँचमा ल्याउनका लागि यो सफ्टवेयरको विकास गरेर प्रयोगमा ल्याएको जनाएको छ।
नगर प्रमुख धर्मराज शाहीले सफ्टवेयरको शुभारम्भ गर्दै स्वास्थ्यमा सुधार ल्याउन एसएमएस अलर्ट सफ्टवेयरले महिला तथा नवजात शिशुको स्वास्थ्यमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
उनले सही सूचना नपाएर, कसैले दक्ष स्वास्थ्यकर्मी भेट्न नसकेर आफ्नो र पेटमा भएको शिशुका बारेमा जानकारी नपाउने समस्याको समाधान गर्न एसएमएस प्रणाली प्रयोगमा ल्याएको बताए।
गर्भावस्थाका महिलाले आफ्नो र गर्भमा रहेका बच्चाका बारेमा जानकारी लिन स्वास्थ्य संस्था जाने खोप दिने समयका बारेमा मोबाइलबाट सूचना प्राप्त गर्नेछन्।
सूचना हेर्न नसक्ने अवस्थाका गर्भवती महिलालाई स्वास्थ्य स्वयंसेविका एवं घरका अन्य सदस्यले समेत सहयोग गर्नुपर्ने प्रमुख शाहीले बताए।
नगरका प्रमुख प्रशासकीय अधिकृत जवानसिंह बमका अनुसार सूचना प्रविष्ट गर्न सूचना प्रविधि अधिकृत नृपेश चौधरीलगायतको एक टिम रहेको छ । स्वास्थ्यका साथै नगरपालिकाप्रति कुनै गुनासो भएमा पैसा नलाग्ने टोल फ्री नम्बर समेत नगरपालिकाले सञ्चालनमा ल्याएको छ।
रास्कोट नगरपालिकाको टोल फ्री नम्बर १६६०८७४४०४४ सञ्चालनमा आउँदा सेवाग्राहीका सुझाव र गुनासा आउने भएकाले सुधार गर्न पनि सहज भइरहेको बताइएको छ। गोरखापत्रबाट