बाजुराको विकास : सात वर्षमा पुलका दुई पिल्लर निर्माण

बाजुरा। बाजुराको बूढीगङ्गा नगरपालिकामा रहेको बेलामाण्डौ डेल्टा सडक खण्डको बार्जुगाड नदिमा निर्माणाधीन पुल सात वर्ष बितिसक्दा पनि दुई वटा पिलर मात्र तयार भएको छ ।

ठेकेदार र नियामक निकायको मिलेमतोमा ढिलासुस्ती हुँदा ४५ मिटर लम्बाइको पक्की पुल निर्माणको काममा ढिलाइ भएको छ ।

२०७२ सालमा अछामको साउँद एडभेन्चर जेभीले निर्माणको जिम्मा लिएको थियो । दुई करोड रुपियाँ लागतमा निर्माण हुने उक्त पुल २०७६ साल असारसम्ममा सम्पन्न हुनु पर्ने भए पनि तीन वर्ष ढिलाइ हुँदा समेत १० प्रतिशत समेत काम हुन सकेको छैन ।

खप्तड छेडेदह गाउँपालिका वडा नं ३ पुडावाउँलाका स्थानीय खडक खड्काले खप्तड छेडेदह ३ बूढीगङ्गा नगरपालिका ४ को बिचमा पर्ने बार्जुगाड नदिमा निर्माणाधीन पुलको काम सात वर्ष सम्म पनि सम्पन्न नभएपछि अहिले यहाँका स्थानीयले बर्खाको समयमा खोला तर्न निकै सास्ती खेप्दै आएको बताउनुभयो ।

उहाँले, पुलको छेउमै मेरो पसल छ, अहिले सम्म पुल निर्माण भएको छैन । पुल निर्माण नहुँदा बर्खाको समय यहाँका बालबालिकाहरूलाई विद्यालयमा जान आउन निकै समस्या भएको उहाँको गुनासो छ ।

गत बर्खाको समयमा कयौँ बालबालिकाहरूले खोला तर्न नसकेपछि आफैले उनीहरूलाई विद्यालयमा जाने बेलामा पीट्यू लाएर खोला वारपार गर्ने गरेको खड्काले बताउनुभयो ।

बाजुराको बेलामाण्डौ डेल्टा सडक खण्डको बार्जुगाड नदिमा ७ वर्ष देखि पक्की पुल निर्माणको काम अलपत्र परेको छ खड्काले भन्नुभयो, ‘पुल निर्माण गर्ने म्याद सकिन्छ , ठेकेदारले फेरि म्याद थप्दै जान्छन् हाम्रो समस्या भने जसो पहिला थियो अहिले पनि उसै छ ।गोरखापत्र,