संघीय संसदको पहिलो अधिवेशन आजदेखि सुरू हुने

काठमाडौं । गत मंसिर ४ गते सम्पन्न भएको आम निर्वाचनबाट बनेको संघीय संसद्को पहिलो अधिवेशन आज सोमबारदेखि सुरू हुने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दिउँसो १ बजेका लागि संसदको पहिलो अधिवेशन बोलाउनुभएको हो । सोमबार बस्ने बैठकका लागि सम्पूर्ण तयारी पूरा भएको संसद सचिवालयले जनाएको छ ।

सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले अधिवेशनका लागि आवश्यक प्रशासनिक, व्यवस्थापकीय र प्राविधिक पक्षका सबै कामहरू पूरा भएको जानकारी दिनुभएको छ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य एवं राप्रपा नेता पशुपति शमशेर जबराले बैठकको अध्यक्षता गर्नुहुने भएको छ ।

सोमबारको बैठकमा ज्येष्ठ सदस्य जबरालेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुनेछ । सोही बैठकमा नवनियुक्त प्रधानमन्त्री तथा मन्त्रिपरिषदका सदस्यहरुको नामावली पनि पढेर सुनाउने कार्यसूची रहेको छ ।

त्यस्तै, सभामुख चयन नहुन्जेलसम्मका लागि ज्येष्ठ सदस्यको अनुपस्थितिमा सभा संचालनका लागि सांसदहरूको मनोनयन गर्ने कार्यक्रम समेत रहेको छ ।

संघीय संसद अन्तर्गतको प्रतिनिधि र राष्ट्रिय सभा दुवैको बैठक सोमबार एकै समयमा बस्ने भएको छ ।नवनिर्वाचित प्रतिनिधि सभामा १२ वटा राजनीतिक दलको प्रतिनिधित्व रहने भएको छ ।