लप्सीफेदीमै पुगेर क्रान्तिकारी माओवादीसहितका तीन कम्युनिस्ट पार्टीका नेताहरुले स्थानीयको आन्दोलनप्रति ऐक्यबद्धता जनाए

-अनु निरौला

काठमाडौं । लप्सीफेदीको बोजिनी गाउँमा नौं दिनदेखि जारी स्थानीय जनताको एमसीसी विरोधी आन्दोलनप्रति नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (बहुमत) र नेकपा (मशाल)का नेताहरुले ऐक्यबद्धता जनाएका छन्।

तीनवटै पार्टीका जिल्ला नेताहरुले लप्सीफेदीमै पुगेर स्थानीय जनताको आन्दोलनलाई सम्बोधन गर्दै ऐक्यबद्धता जनाएका हुन् ।

सोमबार नेकपा (क्रान्तिकारी माओवादी)की केन्द्रीय सदस्य तथा काठमाडौं जिल्लाकी इन्चार्ज शारदा महतले तीनवटै पार्टीको तर्फबाट जारी आन्दोलनलाई सम्बोधन गर्दै ऐक्यबद्धता जनाउनु भएको हो ।

नेतृ महतले स्थानीय जनताको सहमतिबिना आफ्नो थातथालोबाट जबर्जस्त विस्थापित गर्न खोजे आफूहरुलाई मान्य नहुने र आदिवासी जनताको थातथलोको रक्षाका लागि जारी जस्तोसुकै कदम चाल्न पनि तयार हुने चेतावनी दिनुभयो ।

 उहाँले शान्तिपूर्ण रुपमा स्थानीय जनताले गरेको विरोध प्रदर्शनमाथि राज्यको प्रहरी प्रशासनले गरेको क्रूर, निर्मम र अमानवीय दमनको घोर विरोध गर्नुभयो।

प्रहरी प्रशासनको दुरुपयोग गरेर अमेरिकी साम्राज्यवादका दलालहरुले स्थानीय जनता उठिबास लगाए जनताले त्यसको सशक्त प्रतिरोध गर्ने र त्यो प्रतिरोध आन्दोलनमा तीनवटै क्रान्तिकारी पार्टीहरुको पूर्णरुपमा सहयोग रहने बताउनु भयो ।

नेतृ महतको हरेक भनाइलाई स्थानीय आन्दोलनकर्मीहरुले ताली बजाएर स्वागत गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्नुपूर्व स्थानीय अगुवाहरुसँग नेतृ महत, नेकपा (बहुमत)का केस अविरलसहित तीनवटै पार्टी, र पार्टी प्रकाशनका प्रतिनिधिहरुले जारी आन्दोलनको पृष्ठभूमि, प्रहरी प्रशासनको ज्यादति र स्थानीयहरुको मागको विषयमा जानकारी लिनुभएको थियो ।

स्थानीय युवाहरु नविन लामा, संघर्ष समितिका सचिव फुर्वा लामा, पवन वाइवा, रोहण वाइवा लगायतका युवाहरुले जालझेल, षड्यन्त्र, प्रलोभन र विभिन्न खाले भ्रममा पारेर, बुढाबुढीहरुलाई एक्लाएक्लै जंगलमा लगेर ल्याप्चे लगाएर मुआब्जा लिन बाध्य पारेको तर पछि बुझ्दै जाँदा एमसीसीको सबस्टेशन बनाउन लागिएको र त्यहाँबाट तीनतिर प्रशारण लाइन लैजाँदा त्यस क्षेत्रका करिब चार सय घर आफ्नो थातथलोबाट विस्थापित हुने देखेपछि आफूहरु आन्दोलित हुनुपरेको बताएका थिए।

उनीहरुले एक स्वरमा भनेका छन्, “हामी मुआब्जा फिर्ता गर्न तयार छौं । हाम्रो हातमा हाम्रो जग्गाको लालपुर्जा दिनुप¥यो । हामी कुनैपनि हालतमा यहाँ सबस्टेशन बनाउन दिंदैनौं ।