बालबालिकालाई दादुराविरूद्धको खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दादुराबाट जोगाउन आफ्ना बालबालिकालाई दादुरा र रुबेलाविरुद्धको खोप लगाउन आग्रह गरेको छ ।

मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले बालबालिकालाई दादुरा र रुबेलाबाट बचाउन ९ महिना पुगेपछि पहिलो मात्रा र १५ महिना पुगेपछि दोस्रो मात्रा खोप लगाउन आग्रह गरेको हो ।

नेपालगञ्जमा दादुरा तथा रुबेलाविरुद्धको खोप नलगाएकाहरूमा संक्रमण देखिएपछि मन्त्रालयले आफ्ना बालबालिकालाई खोप नछुटाउन आग्रह गरेको हो ।

खोप शाखाका प्रमुख सागर दाहालले दादुराबाट जोगाउन ९ देखि १५ महिनासम्मका आफ्ना बालबालिकालाई दादुराविरुद्धको खोप लगाउन आग्रह गर्नुभयो ।

दुई डोज खोप लगाएमा यसको प्रभावकारिता ९७ प्रतिशत हुने विज्ञको भनाइ छ ।

शमजल्स भाइरसका कारणबाट सर्ने दादुराले नेपालगञ्ज उपमहानगरपालिकामा संक्रमण फैलिएको छ ।

नेपालगञ्जमा ९० जनालाई दादुरा पुष्टि भइसकेको छ भने एक जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ ।

सरकारले दादुरा देखिएको क्षेत्रमा खोप अभियान सञ्चालन गरेको छ ।

खोप अभियान सुरु भएको ठाउँहरूमा अहिलेसम्म ३ हजार बालबालिकालाई खोप लगाइएको छ ।