टिकटकबाट लाइभ जुवा खेलाउने चार जना पक्राउ

काठमाडौं ।टिकटक लाइभमा जुवा खेलाउने चार जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले टिकटकबाट जुवा खेलाउने चार जनालाई पक्राउ गरेको एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए।

दाङ घर भई ललितपुर महानगरपालिका-१७ ग्वार्को बस्ने २१ वर्षीय ऋषिप्रकाश योगी, भक्तपुर मध्यपुर ठिमी-१० बस्ने २७ वर्षीय कपिल गिरी, २१ वर्षीय प्रेम कठायत र २० वर्षीय डिल्लीराज अवस्थीलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीको अनुसन्धान टोलीले उपत्यकाको ग्वार्को, सूर्यविनायक, लोकन्थलीलगायत स्थानमा खोजी अभियान चलाउँदा टिकटक लाइभमार्फत जुवा खेल्दै र खेलाउँदै गरेको अवस्थामा चार जनालाई फेला पारिएको कार्यालय जानकारी दिएको छ।

उनीहरू सुरूमा टिकटकमा लाइभ आउँथे। लाइभमा अरूलाई पनि बोलाएर उनीहरूले तास खेलाउने गरेको हो।

उनीहरूले आफ्नो इसेवा लगायत अन्य डिजिटल वालेटमा रकम जम्मा गर्न लगाउने गरेको बताईएको छ। यसरी हारजित हुने गरी तास खेलाइरहेको भन्ने सूचना पाएपछि अपराध अनुसन्धान कार्यालयको टोलीले चार जनालाई उपत्यकाका विभिन्न स्‍थानबाट पक्राउ गरेको हो।

उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को उपदफा १ बमोजिम जुवा कसुरमा आवश्यक कारबाहीका लागि ललितपुर र भक्तपुरका सम्बन्धित प्रहरीमा बुझाइएको छ।

पक्राउ परेका मध्ये योगीले पब्जी र पब्जी–२ नामक टिकटक बनाइ दुई ई–सेवा वालेटमा विभिन्न व्यक्तिलाई रकम जम्मा गर्न लगाएर एक महिना १० दिनको अवधिमा जुवा खेलाएर रु २८ लाख ७३ हजार कारोबार गरेको पाइएको छ।

यस्तै गिरीले पोकर किङ नामक टिकटक खोली ३ ई–सेवा वालेटमा १० दिनको अवधिमा रु ५३ हजार रकम कारोबार गरेका छन् भने कडायत र अवस्थीले प्रेम नामक टिकटकमार्फत ई–सेवा वालेटमा एक महिना छ दिनको अवधिमा जुवा खेलाएर रु ९३ हजार कारोबार गरेको पाइएको छ।

चारैजनाको साथबाट टिकटक लाइभ जुवा, तास खेल्न खेलाउन प्रयोग गरेका मोबाइल, विभिन्न व्यक्तिका नाम र रकम उल्लेख भएको रजिष्टर, जुवा खेलाउन प्रयोग भएको ३२ बुक तासलगायत बरामद गरेको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिए।