दुई युवाको भारतमा हत्या भएपछि प्रहरीले चासो नदिएको भन्दै विरोध प्रदर्शन

काठमाडौं । जनकपुर धामका दुई युवाको भारतमा अपहरणपछि हत्या भएपछि परिवारले जिल्ला प्रहरी कार्यालय धनुषामा विरोध प्रदर्शन गरेका छन् ।

मृतकका आफन्त र स्थानीयहरुले आफूले मृत्यु हुनभन्दा पहिला नै प्रहरीलाई खबर गरेपनि प्रहरी प्रशासनले आवश्यक चासो नदिएको भन्दै विरोध जनाएका हुन् ।

१४ दिन अगाडिदेखि सम्पर्कविहीन भएका जनकपुरधाम उपमहानगरपालिका वडा नं ८ का २१ वर्षका रोहित साह र वडा नं। १३ निवासी वर्ष २२ का विष्णु साहको अपहरणपति भारतमा हत्या भएको थियो ।

मृतक दुवैजना एकै परिवारका हुन् । रोहित विष्णुलाई लिएर भारतको सीतामढी जिल्लाको बेला परिहार बस्ने आफ्नो नातेदारको घर गएका बेलामा अपहरणकारीले अपहरण गरी परिवारसँग फिरौतीको माग गरेका थिए ।

तर परिवारले फिरौतीको रकम बढाउँदै गएपछि प्रहरीलाई खबर गरेपछि भारतीय सीमा गाउँमा उनीहरु दुवैको हत्या भएको थियो ।

गत सोमबारसम्म विष्णुका परिवारलाई फिरौतीको मागसहित भारतीय नम्बरबाट फोन आइरहेको र शुरुमा २० लाख मागेको अपहरणकारी विष्णुसँग कुरा नगराएपनि उनको आवाज रेकर्ड गरेर उनका आफन्तलाई सुनाउने गरेका आफन्तहरुले बताएका छन् ।

विष्णुको परिवारले अपहरणकारीलाई २० लाख दिन राजी भएपछि परिवारले प्रहरीलाई जानकारी गराएको थियो । मंगलबारदेखि अपहरणकारीको मोबाइलमा सम्पर्क हुन छोडेपछि आफन्तहरुले प्रहरीमा खबर गरेका थिए । मृतकका मामाले प्रहरीलाई पहिला नै हराएको र अपहरणमा परेको रिपोर्ट दिएपनि प्रहरीले नै चासो नदिएको आरोप लगाउनुभयो । उहाँले जिल्ला प्रहरी कार्यालय धनुषाको लापरबाहीका कारण आफन्तले ज्यान गुमाउनुपरेको बताउनुभयो । विरोध प्रदर्शनमा उनीहरुले मृतकलाई न्याय दे, गृहमन्त्री राजिनामा दे जस्ता नारा लगाएका थिए ।

उहाँले प्रहरीले पीडित पक्षले कुनै रिपोर्ट नगरेका कारण खोज्न गाह्रो भयो भनेर झुटो कुरा गरिरहेको बताउनुभयो । उहाँले अपहरणकारीले पठाएको रेकर्ड अडियो हरेक पटक प्रहरीलाई दिएको बताउनुभयो ।