त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रबन्धक ९ लाख घुससहित पक्राउ

काठमाडौँ । सोमबार १ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनल व्यवस्थापन शाखा प्रबन्धक पूर्ण प्रसाद चुडालको साथबाट थप ८ लाख रुपैयाँ बरामद भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनकै कार्यकक्षबाट उनलाई घूस र स्रोत नखुलेको थप ८ लाख रुपैयाँसहित पक्राउ गरेके हो ।

चुडालले एयरपोर्ट (आन्तरिक टर्मिनल) सम्म आवातजावत गर्न पास उपलब्ध गराई सहजीकरण गरिदिएको भन्दै सेवाग्राहीसँग १ लाख ५० हजार रुपैयाँ घुस मागेको उजुरी परेको थियो ।

सोही उजुरी निवेदनका आधारमा अख्तियारको टोलीले सुरुमा चुडाललाई सेवाग्राहीसँग एक लाख पचास हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा कार्यकक्षबाट रंगेहात पक्राउ गरेको हो ।

सो पश्चात नियन्त्रणमा लिइ खानतलासी गर्दा कार्यकक्ष भित्र रहेको स्टिलको दराजबाट स्रोत नखुलेको नगद थप ८ लाख रुपैयाँ बरामद भएको अख्तियार प्रवक्ता श्याम प्रसाद भण्डारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनीमाथि थप अनुसन्धान भइरहेको भण्डारीले जनाएको छ ।