बाजुरा भूकम्पमा परी १ जनाको मृत्यु, १ जना घाइते, २५ भन्दा बढी घर भत्किए

काठमाडौं । बाजुरामा ५.९ म्‍याग्निच्यूडको भूकम्प जाँदा बाजुरा जिल्लाका विभिन्न ठाउँमा २५ घर भत्किएको छ भने एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार गौमुल गाउँपालिका वडा न २ की जमुना रोकायाको मृत्यु भएको छ ।

मंगलबार दिउँसो भूकम्प गएको बेला जंगलमा घाँस काटिरहेको बेला माथिबाट ढुगां खस्दा उनको मृत्यु भएको स्थानीयले बताएको प्रहरीको भनाइ छ ।

त्यसैगरी, भेडा चराउन गएका गौमुल गाउँपालिका वडा न १ का एक जना घाइते भएका छन् ।

जंगलमा भेडा चराउन गएको बेला पहिरो जाँदा ५० देखि ६० भेडा मरेको र गोठालो गएका रामदल बोहरा घाइते भएको स्थानीयले बताएका छन् ।

खप्तड छेडेदह वडा नम्बर ५ मा दुईवटा छाना भत्किएको र गिठे लुहारको घर भत्किएको जानकारी प्राप्त भएको छ ।

त्यसैगरी, मष्टेश्वरी माध्यमिक विद्यालयको भवन भत्केको गाउँपालिकाले जनाएको छ ।

सोही गाउँपालिका ४ का कल्चु सार्की र गोपाल दमाईंको घर भत्किएको वडा अध्यक्ष दल रावतले बताएका छन् ।

भूकम्पका कारण जिल्लाभर भएको घटनाको विवरण संकलन कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।