संसद सचिवालयद्वारा एकीकृत समाजवादीलाई सुविधा दिन अस्वीकार

काठमाडौं । सङ्घीय संसद् सचिवालयले नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका प्रमुख सचेतकलाई सुविधा दिन अस्वीकार गरेको छ ।

दलको कार्यालयले सांसद प्रकाश ज्वालालाई प्रमुख सचेतक तोकिएको र सुविधा उपलब्ध गराउन माग गर्दै पत्राचार गरेको थियो।

सांसद सुविधा व्यवस्थापन शाखाले प्रचलित कानुनअनुसार एकीकृत समाजवादीलाई सुविधा दिन नमिल्ने जवाफ पठाएको हो।

शाखाका उपसचिव रामहरि थापाले कानुनअनुसार सचेतकलाई सुविधा उपलब्ध गराउन नमिल्ने जवाफ पठाइएको बताए ।

समाजवादीले सङ्घीय संसद्का पदाधिकारी तथा सुविधासम्बन्धी ऐनअनुसार सुविधा दाबी गरेको थियो तर सचिवालयले सुविधा दिन नमिल्ने जवाफ पठाएको छ ।

१० सांसद रहेको एकीकृत समाजवादीले ऐनको परिभाषा खण्ड (ञ)अनुसार सुविधा माग गरेको थियो ।

१० भन्दा बढी सांसद भएको दलको प्रमुख सचेतकले पदाधिकारीको सुविधा पाउने ऐनमा व्यवस्था छ ।

सचिवालयले दलको सिट सङ्ख्या १० रहेको र १० भन्दा बढीको अर्थ कम्तीमा ११ सदस्य हुनुपर्ने भन्दै सुविधा दिन नमिल्ने जवाफ पठाएको हो ।

सुविधा शाखामा संसदीय दल गठनका अन्य पत्र पनि प्राप्त भएका छन् ।

जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायतले पनि सो विवरण पठाएका छन् ।