प्रचण्डको ब्रिफिङ : केपी ओलीबाट सहमति पालना भएन,विकल्प खोज्ने बेला भयो?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओलीले सहमति पालना नगरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

बिहीबारबाट सुरु भएको स्थायी कमिटी बैठकमा ब्रिफिङ गर्दै ओलीप्रति असन्तुष्टि जनाएका हुन् । माओवादी केन्द्रका एक पदाधिकारीले दिएको जानकारीअनुसार संसद् विघटनको विषय संसद् प्रवेश गराएर ओलीले सहमति पालना नगरेको धारणा राखेका थिए ।

प्रधानमन्त्री प्रचण्डले माओवादीले एमालेको तुलनामा मन्त्रालय पनि राम्रा नपाएको र मर्यादाक्रममा पनि अप्ठेरो पारिएको टिप्पणी गरेका थिए ।

संसद् विघटनको विषय संसद्मै उठाउँदा निर्वाचित प्रधानमन्त्रीको लागि अलि असहज भएको छ, दाहालको भनाई उद्धृत गर्दै ती पदाधिकारीले भने,विगतका कुरा सार्वजनिकरुपमा नउठाउने सहमति भएको थियो त्यो पालना भएन ।

हामीले त्यो विषय नबोल्ने भनेका थियौँ । संसद् विघटनको विषयमा त्यत्रो आन्दोलन ग¥यौँ, अहिले त्यही ठिक थियो भन्न सकिँदैन ।

उनले एमाले र माओवादीबीच प्रधानमन्त्रीले शपथ लिएका दिनमा एक एक जना मन्त्री पठाउने भनिएको भए पनि एमालेले चारजना पठाएको भन्दै अर्को असन्तुष्टि जनाएका थिए।