आजदेखि काठमाडौंका वडाबाटै राष्ट्रिय परिचयपत्र विवरण संकलन गरिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतबारबाट वडा कार्यालयबाटै राष्ट्रिय परिचयपत्र विवरण संकलन सुरू गर्ने भएको छ ।

पहिलो चरणमा ९ वटा वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गर्ने तयारी महानगरले गरेको छ ।

वडा नम्बर २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ नम्बर वडा कार्यालयबाट विवरण संकलन सुरू गर्ने महानगरपालिकाले जनाएको छ ।

सुरूमा ९ वटा वडा कार्यालयबाट र पछि क्रमशः ३२ वटै वडाबाट उक्त सुविधा उपलब्ध गराइने महानगरपालिकाले जनाएको छ ।

राष्ट्रिय परिचयपत्र बनाउन नागरिकहरुले सास्ती भोग्नु परेकाले महानगरपालिकाले राष्ट्रिय पञ्जीकरण विभागसँगको समन्वयमा विवरण संकलनको काम गर्न लागेको हो ।

अहिलेसम्म सिंहदरबारमा रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट परिचयपत्र तयार गरी जिल्ला प्रशासन कार्यालयहरु तथा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले तोकेको स्थानबाट मात्रै राष्ट्रिय परिचयपत्र वितरण गरिँदै आएको छ।

महानगरपालिकाले नागरिकताको सक्कल प्रति, नागरिकतामा जन्म मिति नखुलेको भए शैक्षिक योग्यताको प्रमाणपत्र, राहदानी वा यस्तै खालका मिति खुल्ने आधिकारिक प्रमाण लिएर जान भनेको छ ।

नागरिकतामा उल्लेखित भन्दा फरक स्थायी ठेगाना भएमा बसाइँसराइको प्रमाणपत्रको सक्कलप्रति लैजानु पर्दछ ।