काठमाडौंको बानेश्वरमा बुवा-छोरी मृत फेला

सांकेतिक तस्वीर

काठमाडौं। काठमाडौंको बानेश्वरमा बुवा-छोरी मृत फेला परेका छन्। शनिबार साँझ ५ बजेतिर काठमाडौं महानगरपालिका-१० स्थित टंकप्रसाद मार्गको एक घरमा बुवा(छोरी मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।

रामेछाप खाँडादेवी गाउँपालिका-८ घर भई बानेश्वरमा डेरा गरी बस्दै आएका अन्दाजी ३६ वर्षीय किशोर भण्डारी र उनकी ७ वर्षीया छोरीको शव फेला परेको हो।

एसपी मैनालीका अनुसार उक्त घरमा भित्रैबाट बन्‍द गरिएको थियो। श्रीमती बाहिर गएकी थिइन्।

उनी घर फर्किएपछि श्रीमान शौचालयमा झुन्डिएको र ७ वर्षीया छोरीको घाँटीमा रेटिएको अवस्थामा मृत फेला परेका हुन्।

घटनाको खबर पाएपछि जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्की लगायतको टोली, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र फोरेन्सिक चिकित्सक गोपाल चौधरीसहितको टोली पुगेको थियो।

अहिले मुचुल्काको काम भइरहेको प्रहरीले बताएको छ।प्रहरीका अनुसार ती बालिका ‘फरक क्षमता’की थिइन्। बालिकाको हत्या गरी बुवाले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।

प्रहरीले अनुसन्‍धान गरिरहेको बताएको छ।