पौडेल र नेम्वाङ मध्य जो राष्ट्रपतिमा निर्वाचित हुन्छ उसको सांसद पद के हुन्छ ? यस्तो छ संविधानमा व्यवस्था

काठमाडौं । राष्ट्रपति चयनका लागि निर्वाचन मिति नजिकिदै गर्दा राष्ट्रपतिका उम्मेदवार बनेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास चन्द्र नेम्वाङ अन्य दलसँग सहयोग माग्न तीब्र भेटघाटमा हुनुहुन्छ ।

राष्ट्रपति चयनको प्रक्रिया अन्तर्गत फागुन १३ गते दुबै जनाले मनोनयन दर्ता गरेका थिए । निर्वाचन आयोगले मतदानका लागि फागुन २५ गते तोकेको छ।

राष्ट्रपतिको निर्वाचनमा लागि संघीय संसद अन्तर्गत प्रतिनिधि र राष्ट्रिय सभाका सांसद र सातवटै प्रदेश सभाका सांसद मतदाता रहने व्यवस्था छ ।

तर संघीय सांसद र प्रदेश सभाका सांसदको मतभार भने फरक फरक छ । संघीय संसदका सांसदको एक जना बराबर ७९ मत (मतभार) गणना हुन्छ भने प्रदेश सांसदको एकजना बराबर ४८ मत गणना हुन्छ ।

पौडेल कांग्रेस, माओवादी लगायत ८ दलीय गठबन्धनबाट उम्मेदवार बन्नु भएको हो भने नेम्वाङ एमाले एक्लैको तर्फबाट उम्मेदवार बन्नु भएको हो ।

दुबै जना उम्मेदवार आ–आफ्ना पक्षमा मत माग्न लागिरहेपनि आखिरमा राष्ट्रपतिमा जित्ने एकजना मात्रै हुन्छन् अर्थात एकजनाले जित्छन् भने अर्कोले हार्छन् ।

अहिले राष्ट्रपति उम्मेदवार बनेका दुबैजना गत मंसिर ४ मा सम्पन्न निर्वाचनबाट प्रतिनिधि सभाका प्रत्यक्ष निर्वाचित भएका सांसद हुन् ।

पौडेल २५ हजार ३ सय ६१ मत ल्याएर तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित हुनुभएको थियो । पौडेलका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार एकबहादुर रानाले १९ हजार ९ सय ४३ मत ल्याउनु भएको थियो ।

त्यसैगरी नेम्वाङ इलाम क्षेत्र नम्बर २ बाट ३० हजार २० मत प्राप्त गरेर प्रतिनिधि सभामा निर्वाचित हुनुभएको थियो । नेम्वाङका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार ९ सय ६ मत प्राप्त गर्नुभएको थियो ।

दुईजना उम्मेदवारमध्ये राष्ट्रपतिमा एकजना मात्रै चुनिने हुँदा उम्मेवार बनेका पौडेल र नेम्वाङको सांसद पद के हुन्छ त रु

यस्तो छ संविधानमा

नेपालको संविधान २०७२ को भाग ६ को धारा ६२ को उपधारा (६) मा निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहेको व्यक्ति यस धारा बमोजिम राष्ट्रपति निर्वाचित भएमा निजको त्यस्तो पद स्वत: रिक्त हुनेछ भनेर उल्लेख गरिएको छ ।

यसर्थ राष्ट्रपतिमा पौडेल या नेम्वाङ जो निर्वाचित हुन्छ, उसको सांसद पद रहने छैन र संम्वन्धित निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुनेछ। त्यस्तै जो राष्ट्रपति पदमा उम्मेदवार बनेर पराजित भएको छ र उ सांसद छ भने उसको सांसद पद रिक्त हुने छैन भन्ने बुझ्न सकिन्छ ।

किनकि पराजित भएमा उसको बहाल रहेको पद के हुन्छ भनेर संविधानमा स्पष्ट उल्लेख छैन। त्यसकारण पौडेल या नेम्वाङ जो राष्ट्रपतिमा निर्वाचित हुन्छन् निर्वाचित हुनेको सांसद पद जान्छ भने पराजित हुनेको सांसद पद जाने छैन ।