एमालेबाट उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्य एक्ली उम्मेदवार,सत्तागठबन्धनबाट तीन जना उम्मेदवार

काठमाडौं। नेकपा (एमाले)ले उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

शनिबार बिहान बसेको एमाले केन्द्रीय सचिवालय बैठकले शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको एमाले नेता प्रदीप ज्ञवालीले बताए।

हामीले सर्वसम्मत रुपमा अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेका छौं,ज्ञवालीले भने।

एमाले उपाध्यक्ष शाक्य बागमती प्रदेशको पूर्व मुख्यमन्त्री हुन्। उनी गत मंसीर ४ गतेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा भने उम्मेदवार बनेकी थिइनन्।

संविधानको मुल मर्म समावेशी भएको उल्लेख गर्दै ज्ञवालीले उपराष्ट्रपतिमा महिला उठाउने निर्णय गरिएको बताए।

स्थानीय तहदेखि नै प्रमुख दुई पदमध्ये कम्तिमा एक जना महिला हुनुपर्ने व्यवस्था रहेको र राष्ट्रपति तथा उपराष्ट्रपतिमा पनि कम्तिमा एक जना महिला हुनुपर्ने उनको भनाइ छ।

उपराष्ट्रपतिका लागि आज उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ। उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुनेछ।

त्यस्तै सत्ता साझेदार दलहरूले उपराष्ट्रपतिमा तीन जना उम्मेदवार बनाउने निर्णय गरेको छ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको प्रभु साह नेतृत्वको आम जनता पार्टीसहित १० दलको बैठकले साझा उम्मेदवार चयन गर्न नसकेपछि तीन जना उम्मेदवार हुने भएका छन्।

शनिबार बिहान बालुवाटारमा बसेको बैठक उपराष्ट्रपतिको उम्मेदवारबारे केन्द्रित भए पनि कुनै पनि सहमति जुट्न नसकेको जनमत पार्टीका अध्यक्ष सिके राउतले जानकारी दिएका हुन्।

सहमति नजुटेपछि जनमत पार्टी र जसपाले छुट्टाछुट्टै उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने र यसबारे भोलिसम्ममा सहमति जुटाउने तयारी भएको जनमत पार्टीका अध्यक्ष सिके राउतले बताए।