राष्ट्रपति पौडेलले पदभार सम्हालेलगत्तै गरे यस्तो पहिलो निर्णय

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले मोरोक्को अधिराज्यका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त गरेका छन् ।

पौडेलले संविधानको धारा २८२ को उपधारा १ बमोजिम इजिप्टका लागि आवासीय राजदूत सुशीलकुमार लम्साललाई मोरोक्कोका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेका हुन् ।

‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम इजिप्टका लागि नेपालको आवासीय राजदूत सुशीलकुमार लम्साललाई मोरोक्को अधिराज्यका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ’, राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

आजै पौडेलले राष्ट्रपतिको पद तथा गोपनीयताको शपथ लिएका थिए।

शीतलनिवास पुगेर पदभार ग्रहणपछि पौडेलको यो पहिलो सार्वजनिक निर्णय हो।

शीतलनिवासमा आयोजित शपथ ग्रहण कार्यक्रममा कायमुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पौडेललाई शपथ खुवाएका हुन्।

गत फागुन २५ गते नेकपा एमालेका सुवास नेम्वाङलाई पराजित गर्दै पौडेल राष्ट्रपति पदमा निर्वाचित भएका थिए।

पौडेलले शपथ लिएसँगै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई बिदाई पनि गरिएको छ।

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की लगायतको उपस्थिति रहेको थियो।