पत्रकार महासंघ ललितपुर शाखाले गर्यो “धर्मरत्न शाक्य जीवन्त पत्रकारिता पुरस्कार कोष” स्थापना

ललितपुर। नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाले ‘धर्मरत्न शाक्य जीवन्त पत्रकारिता पुस्कार कोष’ स्थापना गरेको छ। पत्रकार महासङ्घ ललितपुर शाखाको हिजो मंगलबार बसेको कार्यसमिति बैठकले संस्थापक अध्यक्ष स्वर्गीय धर्मरत्न शाक्यको नाममा कोष स्थापना गर्ने निर्णय गरेको शाखाका अध्यक्ष सागर न्यौपानेले जानकारी दिएका छन् ।

“हामीले अहिले रु एक लाख राखेर कोष स्थापना गरेका छौँ, कोषमा रकम थप्दै जाने हाम्रो नीति छ,अध्यक्ष न्यौपानेले भने ।संस्थापक अध्यक्षको सम्मानमा क्रियाशील पत्रकारलाई पेशाप्रति हौसला जगाउनका लागि यो पुरस्कार महत्वपूर्ण हुनेछ।

पत्रकार महासङ्घ ललितपुर शाखाका संस्थापक अध्यक्ष शाक्यको ८६ वर्षको उमेरमा विसं २०७४ वैशाख २६ गते निधन भएको थियो। उनले वि.सं २००६ देखि पत्रकारिता गर्दै आएका थिए।

शाक्य २०४९ साल देखि २०५३ साल सम्म नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाका अध्यक्ष रहि पत्रकारीता क्षेत्र र पत्रकारको हकहितका लागि महत्त्वपूर्ण भुमिका खेलेका थिए।

पत्रकार महासङ्घ ललितपुर शाखाका सचिव रामहरि कार्कीका अनुसार पुरस्कार कोषलाई व्यवस्थित बनाउन र पुरस्कार प्रदान गर्ने मापदण्ड बनाउनका लागि शाखाका कार्यसमिति सदस्य करुणाकर मल्लिकलाई जिम्मेवारी दिइएको छ।

जिल्लामा क्रियाशील रहेर १० वर्षदेखि पत्रकारिता गरिरहेका व्यक्तिलाई हरेक वर्ष पुरस्कृत गर्ने नीति महासङ्घ ललितपुर शाखाले लिएको छ,सचिव कार्कीले भने।