मूर्ति’ बनेर माफियाको पक्षमा काम गरिरहेका गर्भनर अधिकारीलाई प्रधानमन्त्री दाहालले तत्काल बर्खास्त गर्नुपर्छ 

काठमाडौं ।नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई आम नागरिकको प्रश्न,‘तपाईंले गर्भनर भएर काम गरिरहनुभएको छ कि एमालेको कार्यकर्ता बनेर?

जनताले तिरेको करबाट तलबभत्ता खाने, सेवासुविधा लिने अनि पार्टीका अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा चल्ने ।

शेरबहादुर देउवा सरकारको अर्थमन्त्री जनार्दन शर्माले अधिकारी एमालेको कार्यकर्ता भएको र उनले जनता र राष्ट्रका लागि काम गर्न नसकेको भन्दै पदबाट हटाइदिएका थिए।

यसको विरुद्ध अधिकारी सर्वोच्च अदालत गएका थिए।

अदालतले उनलाई पुनः बहाली गरिदियो । तर, अझैपनि उनको चलनचल्तीमा कुनै परिवर्तन आएको छैन् ।

बजारको स्थिति थाहा पाएपनि उनी अन्जान बनेर बसेका छन्।

बैंकमा डिपोजिट लगभग ठपप बनिसकेको छ । बैंक तथा वित्तिय संस्थामा पैसा निकाल्नेको भीड छ ।

कतिपय बैंकले एक लाखको चेक साट्न नसकेको खबरहरु बाहिरिन थालेको छन् ।

सहकारीहरु रातारात भागिरहेका छन् । जसले गर्दा धेरै बचतकर्ताको उठीबास लागेको छ ।

बजारमा हजार र पाँच सयको नोट हाहाकार भइसक्यो ।
आम नागरिकले घरघरमा पैसा लुकाइसकेका छन् ।

आर्थिक तरलता बढ्दो छ । देशको अर्थतन्त्र ध्वस्त बनिसकेको छ, घोषणा गर्नको मात्रै बेर हो ।

पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाएर दुई हजार निकाल्नतर्फ उनले चासो देखाएका छैनन् ।

यता, विलासी वस्तुको आयात रोक्ने प्रस्ताव पनि मन्त्रिपरिषद्मा लगिएको छैन्, जसले गर्दा अर्थतन्त्रलाई थप भार परिरहेको छ ।

देशको अर्थतन्त्र डामाडोल बनिसक्दा पनि उनी हात बाँधेर बस्नुको कारण के ?

व्यापार घाटा निरन्तर उकालो लागिरहेको छ । मँहगी कहाँबाट कहाँ

पुगिसक्यो । तर, गर्भनर अधिकारी अझैपनि एमालेकै कार्यकर्ताको नजरबाट हेरिरहेका छन् । राजस्व उठ्न छोडिसकेको छ।

विदेशले नेपाललाई अनुदान र ऋण दिन छोडिसकेको छ ।

नेपाल सरकारले विदेशीसंग लिएको ऋणको किस्ता तिर्न नसक्ने अवस्था बनेको छ।

अबको एकाध महिनामा सरकारी कर्मचारीलाई तलबभत्ता खुवाउन सकिँदैन् । मुलुकको अवस्था गम्भीर बन्दै जाँदा पनि उनलाई मतलब छैन् ।
अर्थतन्त्र जोगाउन सक्दिँन भनेर कि गर्भनर अधिकारीले नैतिकताका आधारमा राजीनामा दिनुपर्यो ।

कि प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल हटाउनुपर्यो ।

तलबभत्ता खाएर, ढाका टोपी र कोट लगाएर, सरकारी गाडी चढेर देशको अर्थतन्त्र जोगिन्छ ? क्षमता नभएकालाई जिम्मेवारी दिनुको नतिजा हो यो । उनलाई हटाएर अर्थतन्त्रको विज्ञलाई ल्याउनुपर्यो ।

विगतदेखि वर्तमानसम्म आइपुग्दा धेरै गर्भनर आए र गए । तर, कुनैले पनि वित्तिय संस्थामाथि नियमन गरेनन् ।

बेलैमा घरजग्गा, गाडी र सेयरमा लगानी नगर्न भनि कडाइ गरिदिएको भए आज बैंक, फाइनेन्स र सहकारी टाँट पल्टिदैनथ्यो।

बचतकर्ताबाट जति बचत उठाएको थियो, त्यो सबै पैसा यी तीन क्षेत्रमा फ्रिज भएको छ । वित्तिय संस्थाको कर्जा लगानी नै यसमा छ ।

कलकारखाना, उद्योगमा लगानी नगर्ने अनि बढी नाफा हुने क्षेत्र खोज्दै हिँड्ने भएपछि यस्तो अवस्था बन्यो ।

बच्चादेखि बुढासम्मलाई वित्तिय संस्था कसरी डुब्यो ? भन्नेबारे राम्रो जानकारी छ ।
सरकार छाडा छोडिदिने, वित्तिय संस्थाका सञ्चालक रातारात धनी बन्ने सपना देखेर कर्जा लगानी गर्ने ।

थोरै भएपनि ब्याज आउँछ, आफ्नो पैसा सुरक्षित हुन्छ भनेर सर्वसाधारणले पैसा राखेका हुन् ।

तर, घुस आउने, धेरै नाफा कमाइने भएपछि वित्तिय संस्थाले आँखा चिम्लेर घरजग्गा, सेयर र गाडीमा कर्जा लगानी गरे।

अहिले आएर बचतकर्ता डुब्ने अवस्थामा पुगेका छन् ।

वित्तिय संस्थामाथि विश्वास गरेकोमा उनीहरुलाई थकथकी लाग्न थालेको छ ।

सरकार र राष्ट्र बैंकका कारण लाखौं आम नागरिकको उठीबास लाग्ने भयो । दलालीले गर्दा देशको अर्थतन्त्र चालर्मचुलम्म डुब्यो ।

घरजग्गा दलाली, गाडी दलाली, सेयर दलाली, बैंक दलाली, म्यानपावर दलाली, निर्माण दलालीलगायतले देश सोत्तर बनाए।

देश नेताले चलाएका छैन् भन्ने त यहाँबाट प्रमाणित भइसकेको छ।

सबैतिर दलालीको बिगबिगी छ अनि देश कसरी माथि जान्छ ? बैंकले कित्ताको एक सयमा निकालेको सेयर ३२ सय रुपैयाँसम्म पुग्यो ।
दलालीले ३२ सयमा सेयर सोझासाझीलाई भिडायो । आज सेयरको मूल्य ओरालो लागेपछि सोझासाझीलाई ‘मर्नु न बाँच्नु’ भएको छ ।

खेतीयोग्य जग्गा खण्डीकरण गरेर दलालीले बेचे । २० हजार आनामा किनेको खेतीयोग्य जमिनमा डोजर चलाएर ५० लाखमा बेच्ने काम भयो । दलालीले यसरी सीधासाधीलाई चुस्नुसम्म चुस्यो।

बैंक, फाइनेन्स र सहकारीका सञ्चालक आफैं जग्गा दलाली, आफैं सेयर दलाली । सेयर भनेको जुवा हो ।

सरकारले राजस्वको नाममा खुलेआम जुवा खेल्न दियो ।
सरकारको कमीकमजोरीले गर्दा बचतकर्ताहरु मर्कामा परेका छन् ।

बचतकर्ताले डिपोजिट गरेको रकम कहाँ लगानी गर्ने ? कति प्रतिशत लगानी गर्ने ? सरकारले पहिल्यै नियम बनाइदिनुपथ्र्यो । ऋण लिने त विस्थापित भइसकेका छन् ।

उनीहरुको अवस्था लथालिंग बनिसकेको छ । अब बचतकर्ताको पनि त्यस्तै हुने भएको छ ।

अझैपनि गर्भनर अधिकारी पद ढाकेर बस्नु भनेको लज्जास्पद विषय हो । वित्तिय संस्थामाथि विश्वास गरेर पैसा राख्नुमा बचतकर्ताको के दोष ?
संस्था खुलेपछि उनीहरुले पैसा जोगिन्छ भनेर बचत गरे ?

तर, तिनै संस्थाले आफूहरुलाई उठीबास लगाउँछ भनेर उनीहरुले परिकल्पनासमेत गरेका थिएनन् । दोषी त सरकार हो ।

वित्तिय संस्था सबै ठगले चलाए, सरकारले तिनैको अगाडि घुँडा टेक्यो । प्रधानमन्त्रीलाई अर्थतन्त्रको विषयमा त्यति ज्ञान हुँदैन् ।

प्रधानमन्त्रीले नै सबै क्षेत्रमा नियमन गर्ने हो भने यिनीहरुलाई तलबभत्ता खुवाएर र सेवासुविधा दिएर राख्नुको फाइदा के ?

देश जटिल अवस्थामा पुगिसकेको छ, सरकार केही भएको छैन् भन्दै ठोकुवा गर्दै हिँडेको छ ।
अब पनि अर्थतन्त्र नजोगाउने हो भने देश श्रीलंका बन्न धेरै समय लाग्दैन्।

श्रीलंका बनेपछि मात्र होश खुल्ने काम नहोस् । अर्थमन्त्री शर्माले त पहिल्यै उनी एमालेको कार्यकर्ता हो भनेर घोषणा गरेका थिए।

उनले कुर्सीमा बसेर एमालेलाई हित हुने काम मात्रै गरेको पनि शर्माले बताएका थिए ।

एमालेका विष्णु पौडेल अर्थमन्त्री बनेर आएपछि उनले टाउको हल्लाउने काम मात्रै गरे।

पौडेलले जे जे भयो त्यही मान्ने, अर्थतन्त्रको विषयमा चुइक्क पनि नबोल्ने ।

योबाट उनी एमालेका ‘खुंखार’ कार्यकर्ता रहेछन् भन्ने प्रमाणित भयो ।

देउवाको सरकार हुँदा उद्योग व्यवसायीहरुले चर्को आन्दोलन गरेका थिए ।

बैंकको ब्याजदर चर्को भएको र बैंकको ज्यादती बढेको भन्दै देशभरबाट उद्योग व्यवसायीले आन्दोलन चर्काए । तर, एमालेका पौडेल आउनेबित्तिकै आन्दोलन रोकियो ।

आन्दोलन गर्ने पनि सब एमालेका कार्यकर्ता थिए । अहिले पौडेल हट्नेबित्तिकै आन्दोलन शुरु भएको छ ।

दिनहुँ आन्दोलन भइरहेको छ । उद्योग व्यवसायीहरुले एमालेका अध्यक्ष केपी शर्मा ओलीको आन्दोलन गरिरहेको त स्पष्ट भइसकेको छ ।
एमालेको झोले बनेर उद्योग व्यवसायीले आन्दोलन गरिरहेका छन् ।

आफू सरकारमा रहँदा सबलाई गुमसुम बनाउने, आफू हट्नेबित्तिकै आन्दोलन चर्काउने। प्रधानमन्त्री पुष्पकमल दाहालले गर्भनरलाई बर्खास्त गर्नुपर्छ।

हिजो आफ्नो मर्जीले बैंकबाट ऋण लिने अनि अहिले तिर्दिन भन्न पाइन्छ ?

जनताले ऋण लिऊँ भनेर करकाप गरेको होइन् । सरकारले ऋण लिनैपर्छ भनेको थिएन्।

आफ्नो फाइदाका लागि ऋण लिने अनि अहिले हामी तिर्दैंनौ भनेर सडक आन्दोलन गर्न मिल्छ ?
हिजो झोलाझोला पैसा बोक्ने बेलामा आँखा देखेनन्, अहिले तिर्ने बेलामा व्यवसायीहरुको तीन नेत्र खुल्यो।

ब्याजदर घटाऊ भन्न पाइन्छ तर ऋण तिदिँन भन्न पाइँदैन् । यो त सिँधै लुट हो ।

सहकारीमा पैसा राख्ने ९७ लाख बचतकर्ताको बिजोग भएको छ ।

बिसौं अर्ब रुपैयाँ डुब्यो । बैंकमा त तीन करोड जनताको पैसा छ । बैंक डुब्यो भने तीन करोड जनताको बिचल्ली हुन्छ ।

गर्भनर अधिकारी ‘मूर्ति’ बनेर व्यापारीको पक्षमा काम गरिरहेका छन् ।

माफियाको पक्षमा काम गर्नेलाई प्रधानमन्त्री दाहालले हटाउनुपर्यो।

उनलाई पदमा राख्यो भने प्रधानमन्त्री असफल र देशको अर्थतन्त्र तहसनहस हुन्छ ।
अनुसा थापा-भक्तपुर