एकीकृत समाजवादीले गर्यो गृहसहित यी तीन मन्त्रालयमा दाबी

फाइल तस्वीर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्बाट विश्वासको मत लिएपछि सरकार विस्तार गर्ने तयारी गरेका छन्।

उनले यही चैत ६ गते विश्वासको मत लिने प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिए ।

उनका अनुसार सरकार विस्तार र मन्त्रालय बाँडफाँटबारे सत्ता गठबन्धनभित्र छलफल हुन बाँकी छ।

दलहरूले आन्तरिक तयारी भने गरिरहेका छन्।
सत्ता गठबन्धनमा आबद्ध चौथो ठूलो दल नेकपा (एकीकृत समाजवादी)ले गृहसहित तीन मन्त्रालयमा दाबी गर्ने भएको छ।

एकीकृत समाजवादीका एक नेता आफूहरूले रोजेको मन्त्रालय पाउनुपर्ने बताउँछन्।

माओवादीले प्रधानमन्त्री पायो, कांग्रेसले राष्ट्रपति पायो।

जसपाले उपराष्ट्रपति पाउने पक्का भएको छ।

गठबन्धनमा रहेको चौथो ठूलो दलको हैसियतले हामीले रोजेको तीन मन्त्रालय पाउनुपर्छ,ती नेताले भने,महत्त्वपूर्ण मन्त्रालय गृह, अर्थ वा भौतिक पूर्वाधार तथा यातायातमध्ये हामीले रोजेको मन्त्रालय पाउनुपर्छ।
त्यसमा गृहमा हाम्रो जोड रहन्छ।

यस्तै, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, स्वास्थ्य तथा जनसंख्या र शिक्षा, विज्ञान तथा प्रविधिमध्ये दुई मन्त्रालयमा आफूहरूको दाबी रहने ती नेताले बताए।

पार्टीमा औपचारिक रूपमा छलफलपछि निर्णयमा पुग्ने उनको भनाइ छ।

एकीकृत समाजवादीबाट उपाध्यक्ष राजेन्द्र पाण्डेले मन्त्रिपरिषद्मा नेतृत्व गर्ने सम्भावना छ।

पार्टीका महासचिव बेदुराम भुुसालले पनि आकांक्षा राखेको नेताहरू बताउँछन्।