नेपाली क्रिकेट खेलाडीलाई जनही २ लाख रूपैयाँ दिने सुदूरपश्चिम सरकारको घोषणा

फाइल तस्वीर

काठमाडौं। सुदूरपश्चिम प्रदेश सरकारले क्रिकेट खेलाडीलाई जनही २ लाख रूपैयाँ दिने घाेषणा गरेको छ। सरकारले चैत २ गते बिहीबार काठमाडौंमा सम्पन्न आईसीसी क्रिकेट विश्वकप लिग–२ मा विजयी हुँदै विश्वकप छनोटमा पुग्न सफल सुदूरपश्चिम प्रदेशका खेलाडीलाई नगदसहित सम्मान गर्ने भएको हो।

युएईलाई पराजित गर्दै नेपाललाई विश्वकप क्रिकेटमा छनोटमा पुर्याउन महत्वपूर्ण योगदान गरेका प्रमुख खेलाडी दिपेन्द्रसिंह ऐरी र भिम सार्कीलाई जनही २ लाख रूपैयाँ दिने सुदूरपश्चिम प्रदेश सरकारले घोषणा गरेको हो।

त्यस्तै, टिममा परेका खेलाडी सन्दीप जोरालाई १ लाख र अन्तिम १८ मा पर्न सफल कमलसिंह ऐरी र अर्जुन सावदलाई ५० हजार गरी ६ लाख रूपैयाँ दिने मुख्यमन्त्री कमल शाहको सचिवालयले जनाएको छ।

नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दको विषेश पहलमा सुदूरपश्चिम प्रदेश सरकारले खेलाडीलाई प्रोत्साहन स्वरुप पुरस्कार दिने घोषणा गरेको हो। चन्दको सुदूरपश्चिम गृह प्रदेश पनि हो।

प्रदेश सरकारले पुरस्कार दिने घोषणा गरेकोमा खुशी व्यक्त गर्दै यो प्रोत्साहनले अगामी दिनमा पनि क्रिकेटमा लागि रहन हौसला मिलेको खेलाडी भीम सार्कीले बताउनुभयो।

सुदूरपश्चिम प्रदेश सरकारले खेलाडी नगदसहित सम्मानको घोषणा गर्ने कार्य निकै महत्वपूर्ण रहेको क्रिकेट संघका अध्यक्ष चन्दले बताउनुभयो। पुरस्कारले खेलाडीलाई खेलप्रति लागिरहन हौसला मिल्ने चन्दले बताउनुभयो।

सुदूरपश्चिम प्रदेश सरकारले यसअघि यू–१९ नेपाली क्रिकेट टोलीलाई विश्वकपमा पुर्याउन सफल भएका आफ्ना प्रदेशका क्रिकेटरलाई जनही १ लाख पुरस्कार दिने घोषणा गरेको छ।

सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिस्तरीय निर्णयबाट उक्त टोलीमा प्रतिनिधित्व गरेका ५ जना खेलाडी जनही १ लाख र ४ टिम अफिसियललाई जनही ५० हजार रूपैयाँ दिने घोषणा गरेको हो।

नेपाली यू–१९ क्रिकेट टोलीमा सुदूरपश्चिमका दीपक बोहरा, दिपक बोहरा बी, मिलन बोहरा, हेमन्त धामी र आकाश चन्द रहेका थिए। त्यस्तै, टिम अफिसियलमा मुख्य प्रशिक्षक जगत टमटा, सहायक प्रशिक्षक धिरेन्द्र चन्द, व्यवस्थापक विक्रम विष्ट र फिजियो पुरन तिरुवा रहेका थिए।

यू–१९ नेपाली टोलीले २०१६ को विश्वकपपछि पहिलो पटक विश्वकपमा स्थान बनाएको हो। विश्वकपमा छनोट भएको उक्त टोलीका सदस्यलाई नेपाल सरकारले नेपाल क्रिकेट संघ (क्यान)ले जनही १ लाख रुपैयाँको पुरस्कार दिने घोषणा समेत गरेको छ।