मुख्यमन्त्री कार्कीको गाडी तोडफोड, प्रदेशको नाम खारेज गर्न माग

काठमाडौं। ओखलढुंगामा मुख्यमन्त्री हिक्मत कार्की सवार गाडी तोडफोड गरिएको छ।

कोशी प्रदेश नाम खारेज गर्न माग गर्दै आन्दोलनकारीले सिद्धिचरण नगरपालिका वडा नं. ११ को गोरुमारेभन्जयाङ चोकमा मुख्यमन्त्री सवार गाडी तोडफोड गर्नुका साथै गाडीमा राखिएको झण्डा निकालेर फ्याँकेका छन्।

मुख्यमन्त्री कार्की जिल्लामा सञ्चालित विभिन्न योजनाहरु उद्घाटन र शिलान्यस गर्न चैत्र ५ गते ओखलढुंगा आउनुभएको थियो।

मुख्यमन्त्री कार्कीलाई कालो झण्डा देखाउँदै आन्दोलनकारीले विहानै देखि सिद्धिचरण राजमार्गमा टायर बालेर चक्काजाम गरेका थिए।

पहिचानको पुनः नामांकन संघर्ष समितिले आयोजना गरेको कार्यक्रमको नेतृत्व नेपाल आदिवासी जनजाति महासंघले गरेको थियो।

कडा सुरक्षाकावीच ओखलढुंगा सदरमुकामबाट सिद्धिचरण नगरपालिका १ तलुवामा सामुदायिक भवनको उद्घाटन गर्न मुख्यमन्त्री कार्की जाँदै थिए।

मुख्यमन्त्री विरुद्ध नारावाजी गर्दै आन्दोलनकारीले कालोझण्डा समेत देखाएका थिए।

सो क्रममा सुरक्षाकर्मी र आन्दोलनकारीवीच केही समय झडपसमेत भएको थियो।

यसअघि मुख्यमन्त्री हिक्मत कार्कीको कार्यक्रमलाई पहिचान पक्षधरहरुले अवरोध गरेका छन्।

ओखलढुंगामा विभिन्न विकास निर्माणका कार्यक्रमको शिलान्यास गर्न आइपुग्नु भएका मुख्यमन्त्री कार्कीको कार्यक्रमलाई रमाइलोडाँडामा टायर बालेर पहिचान पक्षधरहरुले अबरोध गरेका हुन्।

मुख्यमन्त्री कार्कीको रुम्जाटारपछि सिद्धिचरण नगरपालिका वडा नंं ६ र लगतै शहरी विकास तथा भवन कार्यालयको भवन शिलान्यास गर्ने कार्यक्रम थियो।

तर, पहिचान पक्षधरहरुले रमाइलोडाँडाको मुख्य चोकमा टायर बालेर विरोध गरेपछि मुख्यमन्त्री बाँकी कार्यक्रम स्थगित गरेर सिधै रुम्जाटार गएको स्रोतको भनाइ छ।