सत्ता गठबन्धनमा यी कमाउ मन्त्रालय लिनलाइ रडाको ?

काठमाडौं। सत्तारुढ गठबन्धनमा मन्त्रालय भागबण्डाको रडाको मच्चिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो पटक विश्वासको मत लिएसँगै सरकारलाई पूर्णता दिन गृहकार्य थालेपछि सवै दलले कमाउ र आकर्षक मन्त्रालय चाहिने अडान राखेपछि गठबन्धनमा रडाको मच्चिएको हो।

२५ सदस्यीय मन्त्रिपरिषदमा प्रधानमन्त्री प्रचण्डले सांसदका आधारमा दश दलीय गठबन्धनमा भागबन्डा मिलाउने गरी प्रस्ताव राख्नुभएको छ। आफूलाई विश्वासको मत दिने सबै दललाई सरकारमा समावेश गराउने गरी प्रधानमन्त्रीले भागबन्डाको खाका बनाउनु भएको छ।

सांसदहरुको संख्याको आधारमा भागबन्डा मिलाउँदा १० मन्त्रालय दाबी गरेको नेपाली कांग्रेसलाई ८ वटा दिने प्रधानमन्त्री प्रचण्डको प्रस्ताव छ।

यस्तै माओवादी केन्द्रले प्रधानमन्त्रीसहित ४ मन्त्रालय राख्दा यसअघि तीन मन्त्रालय नपाएको जसपा र तीन वटै मन्त्रालयको दाबी गरिरहेको नेकपा एकीकृत समाजवादीलाई २/२ वटा मन्त्रालय दिने प्रस्ताव राख्नुभएको छ।

यस्तै प्रतिनिधिसभाको चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी भएको खण्डमा तीन वटा मन्त्रालय दिने प्रधानमन्त्रीको प्रस्ताव छ।

रास्वपाका अध्यक्ष रवि लामिछानेको राहादानी मुद्दा ढिसमिस पारेकोले सो पार्टी जति मन्त्रालय पाएपनि सरकारमा जाने अवस्थामा देखिएकाे छ।
यस्तै जनमतलाई एक मन्त्रालय दिने प्रधानमन्त्रीको प्रस्ताव छ।

यस्तै नागरिक उन्मुक्ति, लोसपा, नेपाल समाजवादी पार्टी, आम जनता पार्टीलाई एक-एक वटा मन्त्रालय दिने प्रधानमन्त्रीको प्रस्ताव छ।

सत्ता गठबन्धनमा सामेल जनमोर्चा भने सरकारमा नगएरै अन्य आर्थिक लाभ लिने योजनामा रहेको देखिएकाे छ।