सांसदले नै पाएनन् काठमाडौंमा ४ महीनासम्म डेरा ?

काठमाडौं। राष्ट्रिय सभाका सांसद तुलप्रसाद विश्वकर्माले दलित भएकै कारण आफूले चार महीनासम्म काठमाडौंमा डेरा नपाएको बताएका छन्।

राष्ट्रिय सभाको चैत ८ गतेको बैठकमा बोल्दै सांसद विश्वकर्माले आफूले डेरा नपाएको बताएका हुन्। राष्ट्रिय सभाको सदस्यका रूपमा निर्वाचित भएर काठमाडौं आएपछि चार महीनासम्म डेरा पाउन नसकेको उनले सुनाए।

काठमाडौंका विभिन्न ६ स्थानमा डेरा खोज्न गए पनि अन्त्यमा जात सोधेर डेरा नदिइएको सांसद विश्वकर्माको भनाइ थियो। आफू राष्ट्रिय सभाको सदस्य हुँदा पनि यस्तो पीडा भोगेको भन्दै सामान्य दलित समुदायका मानिसको हालत के होला भन्ने प्रश्न गरे।

छुवाछूत र भेदभाव समाजमा केकति मात्रामा गहिरो छ भन्ने कुराको फेहरिस्त खुलाउँदै आफूमाथि परेको विभेदको घटना संसद्‌मा सुनाएका हुन्।

सांसद भएर काठमाडौं आएपछि प्रत्यक्ष रूपमा मैले भोगें। चार महीनासम्म मैले डेरा पाइनँ। ६ ठाउँमा मेरो पक्का भएपछि रद्द भयो,सांसद विश्वकर्माले भने।

कुरा गर्न जाँदा सबै मिल्छ। अन्तिममा हिंड्ने वेलामा हजुर के थरी भन्नुहुन्छ ? म विश्वकर्मा हो भनेपछि श्रीमतीसँग कुरा गरेको छ भने श्रीमान्‌लाई सोध्नुपर्छ भन्नुहुन्छ। श्रीमान्‌सँग कुरा गरेको छ भने श्रीमतीसँग सोध्नुपर्छ भन्नुहुन्छ।

त्यसरी ६ ठाउँमा डेरा रद्द भयो,सांसद विश्वकर्माले भने,लास्टमा म दलित समुदायकै मानिसको घरमा बसिरहेको छु अहिले। त्यस खालको दुःखद अवस्था छ अहिले पनि।

एक्काइसौं शताब्दीमा पनि दलित समुदायमाथि ग्रामीण क्षेत्रमा मात्रै नभई शहर तथा शहरी क्षेत्रमा पनि विभेद भइरहेको उनले बताए।

सांसद विश्वकर्माले मधेश प्रदेशका जनप्रतिनिधिले नै दलित समुदायमाथि विभेद गरेको तथ्य पेश गर्दै त्यस्तो घटनाप्रति दुःख व्यक्त गरे।

विभेद र छुवाछूत अन्त्यका लागि योजना बनाएर कार्यान्वयन गर्नुपर्ने उनको भनाइ थियो। शहरी क्षेत्रमा नै जातीय विभेदको घटना भए पनि कारबाही नभएको उनको गुनासो थियो।

संविधान र कानूनमा व्यवस्था भए पनि कार्यान्वयन हुन नसकेको, दलित समुदायको सीप र श्रम चल्ने, पानी नचल्ने जस्ता व्यवहार अन्त्यका लागि सामाजिक जागरण जरुरी रहेकामा उनले जोड दिए। सरकारका तर्फबाट सम्पादन हुनुपर्ने काम समेत नभएको उनको भनाइ थियो।