सेनाको संख्या विज्ञले तोक्ने होइन: प्रधानसेनापति शर्मा

काठमाडौं। नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले सेनाको संख्या निर्धारण गर्ने काम सुरक्षा विज्ञ वा प्राज्ञको नभएको बताएका छन्।

प्रधानसेनापति शर्माले पोखरामा बिहीबार आयोजित पश्चिम पृतना हेडक्वार्टरको प्रदेशस्तरीय भूतपूर्व सैनिक सम्मेलनलाई सम्बोधन गर्दै बाहिरी व्यक्तिहरूले सेनाको संख्याबारे टिप्पणी गर्न नमिल्ने धारणा व्यक्त गरेका हुन्।

समय-समयमा कसको इशारामा हो, बाहिरी व्यक्तिहरूबाट नेपाली सेनाको संख्या यति हुनुपर्छ,त्यति हुनुपर्छ र यस्तो साइजको हुनुपर्छ,राइटसाइजिङ हुनुपर्छ र अन्य नचाहिंदो नचाहिंदो कुरा पनि हुने गर्छ र यसलाई प्रकाशित पनि गर्ने गरेको पाइएको छ। यो हास्यास्पद छ, शर्माले सम्मेलनमा भने।

उनले सेनाको संख्या तोक्ने काम विज्ञको नभएको जिकिर गरे। शर्माले भने,आफ्नो कार्य र जिम्मेवारी पूरा गर्न नेपाली सेना केकति चाहिन्छ भन्ने कुरा नेपाल सरकारले निर्धारण गर्दछ।

न कि कुनै आईएनजीओ एनजीओमा बसेर आफैं स्वघोषित प्राज्ञ, स्वघोषित विज्ञ र सुरक्षा विज्ञले गर्ने होइन। यो नेपाल सरकारको काम हो भनेर म उहाँहरूलाई पनि भन्न चाहन्छु।

सेनाले संविधानसम्मत निर्वाह गरिरहेका जिम्मेवारीबारे वेला मौकामा दुष्प्रचार गर्ने नियतले अनर्गल गाली र प्रचारहरू हुने गरेको प्रधानसेनापति शर्माको भनाइ थियो।

उनले भने,सञ्चार माध्यमबाट तथा सामाजिक सञ्जालबाट प्रसारित हुने यस किसिमका भ्रामक प्रचारबाट तपाईंहरू सधैं टाढा रहनुपर्दछ।