लाइसेन्स ३ दिनमै दिने उपप्रधानमन्त्री श्रेष्ठको दाबी

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सवारी चालक अनुमति पत्र (लाइसेन्स)को पर्खाइमा बसेका सवारी चालकले ३ दिनमा पाउने बताउनुभएको छ ।

सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी उपप्रधानमन्त्री श्रेष्ठले मन्त्रालयको जिम्मेवारी सम्हालेको तीन महिना तीन दिनका आफूले गरेका काम सार्वजनिक गर्दै अबको ८ महिनापछि सवारी चालकले सहज रुपमा ट्रायल दिएको ३ दिनमा लाइसेन्स पाउने बताउनुभयो ।

उहाँले सरकारले नयाँ प्रिन्टिङ मेसिन खरिद गरेर लाइसेन्स वितरणलाई प्रभावकारी बनाउन लागेको बताउनुभयो। उहाँले हरेक दिन दैनिक ६ हजारको सङ्ख्यामा लाइसेन्स प्रिन्ट भएर वितरण गरिए पनि पछिल्लो लोडका कारण वितरण प्रभावकारी नभएको बताउनुभयो।

उहाँले मेसिन खरिदका लागि सूचना प्रकाशित भइसकेको र अब टेन्डरमा गएपछि खरिद प्रक्रियालाई अगाडी बढाइने जानकारी दिनुभयो । उहाँले मन्त्रालयले सोझै खरिद गर्न सार्वजनिक खरिद ऐनले रोक्ने भएपछि टेन्डरमा जानुपरेको दाबी गर्नुभयो।

उपप्रधानमन्त्री श्रेष्ठले प्रधानमन्त्रीसँग पनि सल्लाह गरेरै मेसिन खरिदको प्रक्रिया अगाडी बढाइएको बताउनुभयो। उहाँले अर्थले बजेट निकासा गरेपछि थप काम अगाडी बढ्ने बताउनुभयो।

त्यस्तै, मन्त्री श्रेष्ठले आफ्नो मन्त्रालय हेरफेर हुनसक्ने संकेत गर्नुभएको छ। तपाईं गृह मन्त्रालय जान लाग्नुभएको हो रु भन्ने सञ्चारकर्मीको प्रश्नमा गृहमन्त्री बन्ने कुरा आफ्नो चाहनामा नहुने भन्दै प्रधानमन्त्रीको निर्णय मान्ने बताउनुभयो। उहाँले छिटै मन्त्रिपरिषदले पूर्णता पाउने बताउनुभयो।

भारतले प्रस्तावित काठमाडौं–रक्सौल रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) एक महिनाभित्रै तयार हुने बताउनुभयो । उहाँले अध्ययन सकेर एक महिनाभित्रै प्रतिवेदन नेपालले पाउने अपेक्षा गरिएको बताउनुभयो।