भारत र चीनको रणनीति नबुझ्दा फस्यो नेपालः सरकारको लापरवाहीले भोकमरी लाग्ने संकेत

अनुसा थापा-भक्तपुर

काठमाडाैं। २०६९ सालमा मुलुकको प्रधानमन्त्री पदमा बाबुराम भट्टराई थिए । मुलुक हाँक्ने कुर्सीमा बसेका उनले त्यतिबेला एक कार्यक्रममा भनेका थिए,‘नेपाल चलाउने चाबी भारतको हातमा छ। भारतले जे चाह्यो यहाँ त्यही हुन्छ। प्रधानमन्त्री हुँदाको तीतो अनुभव उनले सुनाए।

नेपाली जनताले धेरै संघर्ष गरेर राजनीतिक परिवर्तन गरे। सो क्रममा धेरै शहिद भए। अहिलेको व्यवस्था ल्याउनका लागि जनताले निकै दुःखकष्ट गरेका थिए। राजनीतिक परिवर्तन भयो तर भारतको हस्तक्षेप गर्ने बानीमा परिवर्तन आएन्।

नेपालको जुनसुकै मामिला होस्, भारतले आफ्नो नाक घुसाइहाल्छ । प्रश्न उठेको छ,‘भारतलाई नेपाल चलाउने रिमोर्ट दिने को हुन् त ?’ हाम्रो देशका नेताहरुले राष्ट्रभन्दा पनि सत्तालाई बढी महत्वमा राखे ।

सत्तामा जानका लागि भारतको सहयोग चाहिन्छ । भारतले जे भन्यो त्यही गर्छन्, यहाँका नेता । नेपालका राजनीतिक दललाई आफ्नो इशारामा नचाएर भारतले फाइदा उठाउँदै आएको छ । नेपालको अधिकांश जमिनमा भारतले कब्जा जमाइसकेको छ ।

कालापानी, लिपुलेकलगायत धेरै जग्गामा भारतले अतिक्रमण गरिरहँदा नेपाल सरकार रमिते बनेर टुलुटुलु हेरिरहेको छ । यता, चीनले पनि नेपालको साँध मिचेर नेपाली भूमिमा कब्जा जमाउँदै आएको छ।

पुर्खाहरुले भनेअनुसार नेपाल यति सानो थिएन् । सत्तामा जानका लागि जमिन ने जिम्मा लगाउने काम भयो । राणाकालमा धेरै जमिन भारत र चीनले खाइदिएको बताइन्छ । मुलुकमा बहुदलीय व्यवस्था आएपनि अवस्था उही नै छ । अर्काको जमिनमा आँखा लगाउने क्रममा रोक लाग्न सकेको छैन् ।

हस्तक्षेप गर्ने त गरिहाल्यो, त्यतिले मात्र नपुगेपछि भारत र चीनले नेपाल सिद्धयाउने रणनीति बनायो । खेतीयोग्य जमिनमा घर र बाटो बनाउन सिकाउने यी दुई मुलुक हुन् ।

बाटो निर्माण गर्न लाग्ने सबै सामान उनीहरुले बेचे । त्यो बाटोमा चल्ने सवारी साधन बेच्ने पनि तिनै हुन् । नेपालमा पेट्रोल, डिजेलको खानी छैन् । इन्धनको खानी नै नभएको मुलुकमा यत्रो सवारी साधन छन् । केही कारणबस् नाकाबन्दी भयो भने यी गाडी कहाँ लगेर थन्काउने ।

खेतीयोग्य जमिनमा घर बनाउँदा खाद्यान्न सबै आयात गर्नुपर्ने भयो । नेपाल कुनै पनि चीजमा आत्मनिर्भर छैन् । खेतीयोग्य जमिन घरैघरले ढाँकिएको छ । अन्य मुलुकले खाद्यान्न पठाएन भने नेपाली भोकभोकै मर्छन् । यहाँ हाहाकार हुन्छ । घर बनाउन चाहिने सामान भारत र चीनले बेच्यो ।

एउटा सामान्य तारदेखि रंगसम्म आयात हुन्छ । सामान आयात गर्दै घर बनाउने कामले प्राथमिकता पायो । जसको असर क्रमशः देखिँदै छ । खेतीयोग्य जमिनमा घर ठड्याएर बोराको चामल किनेर खान सिकाइयो ।

नेपाल सरकारले चुइक्क बोल्यो भनेपनि यी दुई मुलुकले नाकाबन्दी गरिदिन्छन् । नेपालीहरु भोकभोकै मर्नुपर्ने दिन आउँछ। खाद्यान्नमा सरकार जहिलेपनि आत्मनिर्भर हुनुपर्छ । जुन मुलुक खाद्यान्नमा आत्मनिर्भर हुँदैन्, त्यहाँ विदेशी हस्तक्षेप बढिरहन्छ । नेपालमा पनि त्यही नै भएको हो।

पहिलेपहिले दाउरामा खाना पकाइथ्यो । गोबर ग्याँसबाट पनि खाना पकाउने गरिन्थ्यो । तर, अहिले त सबैतिर ग्याँसको प्रयोग हुन्छ। दाउरा बालेर कसले खाना पकाउँछ ?

ग्याँसको मूल्य बढेको बढ्यै छ । अब दाउरामा पकाउँछु भन्दा पनि सम्भव छैन् । सबै रंगीविरंगी घर बनाइएको छ, कालो लाग्ला भन्ने डर । चीन र भारतले सम्झौता गरेर नेपाल डुबाउन खोजे ।

नेपाललाई उनीहरुको व्यापार गर्ने थलो बनाइयो । विडम्बना, नेपाल सरकारले बुझ्न सकेन्। बितिसकेको समय फर्केर आउँदैन्। सरकारले बेलैमा सोचविचार गरेको भए आज यस्तो जटिल परिस्थितिमा नेपाल फस्दैनथ्यो । भारत र चीनले नेपाल सरकारलाई अनुदान दिएको भनि ठूल्ठूला दाबी गर्दै आएको छ ।

एक सय रुपैयाँमा उत्पादन भएको सामानमा पाँच सय नाफा खाएर नेपाललाई बेच्ने काम हुँदै आएको छ । त्यही नाफाबाट आएको १० रुपैयाँ नेपाल सरकारलाई अनुदान दिन्छन् । नेपाल सरकार त्यति अनुदान पाएपछि मख्ख परिहाल्छ।

नेपालीहरु विदेश गएर रगतपसिना नभनिकन पैसा कमाइरहेका छन् । त्यही पैसाले नेपाल सरकारले आफ्नो खर्च धानेको छ । परिवारको एक सदस्य विदेश गएर कमाउने अनि घरपरिवार यहाँ बसेर मोजमस्ती क्रम बढेको छ ।

उताबाट कमाएर ल्याएको रकम पनि सही ठाँउमा सदुपयोग भएको भए त हुने हो । विडम्बना, उनीहरु पनि घर बनाउने र मँहगामँहगा सामान किन्नतिर लाग्छन् । जसले गर्दा हाम्रो पैसा फेरिपनि उनीहरुले नै लगिरहेका छन् । भारत र चीनले केसम्म गरेन् ? विदेश जान सिकाउने नै यिनीहरु त हुन्।

अलिकति पढेलेखेकालाई अमेरिका, अष्ट्रेलिया पठाइदिने । नपढेकाको दिमागमा नेपालमा केही हुँदैन् भन्दै खाडी मुलुक पठाइदिने । भएका खेत पनि बाँझै छन् ।

बुढाबुढी र बालबच्चा मात्रै नेपालमा छन् । अनि कसले उत्पादन गर्ने ? विदेशमा गएर मरिमरि कमाएको पैसासमेत भारत र चीनले नै लगिरहेको छ । चामल किन्यो भारतले व्यापार गरिहाल्यो । कुनै सामान खरिद गर्यो, चीनको व्यापार भइहाल्छ । बजारमा नेपाली उत्पादन केही पनि छैन् ।

नेपालीले पनि घर बनाउनबाहेक केही सिकेनन्, जानेनन् । दुई आना जग्गा किनेर पाँच तले घर बनाउने । गाडी किन्ने, घरभाडामा लगाएर बसिबसि खाने । यतिखेर मुलुकमा व्यापक आर्थिक मन्दी देखिएको छ ।

बहाल तिर्न नसकेपछि व्यवसायीहरुले सटर नै छोडिदिएका छन् । अधिकांश सटरहरु खाली छन् । अब घरधनीले के खाने ? हिजो पो बहालमा बस्नेलाई चुस्नुसम्म चुसेर मोटाएका थिए । उनीहरुले सटर र कोठा नै छोडिदिएपछि घरधनीहरुकै बेहाल हुने देखिएको छ ।

नेपालीहरुले घरजग्गाबाहेक अरु केही पनि देखेनन् । जग्गा दिनको दुई गुणा र रातको चार गुणा बढ्छ भन्ने सोच सबैमा देखियो । यता, कोठा बहालमा बस्नेलाई ठग्न पाउन भएपछि अरु के चाहियोस् ।

विदेश बसेर आएका हुन् कि सरकारी कर्मचारी सबै जग्गा किनेर घर ठड्याउनतिरै लागिपरे । भूमि सुधार मन्त्रालय र राष्ट्रिय भूमि आयोगले घरबाट उठेको राजस्व मात्र हेर्यो । छिमेकी मुलुकले खाद्यान्न पठाएन् भने नेपाली जनता मर्छन् भनेर सरकारले सोच्दै सोचेन् ।

घरजग्गामा आएको राजस्व हिसाब गर्ने अनि सार्वजनिक गर्ने काम मात्र भयो । घरजग्गाले राजस्व उठेको होला । तर, त्यो पैसाको सदुपयोग हुन सकेको छ ? भूमि मन्त्रालयले जति राजस्व उठाउँछ त्यसले खाद्यान्न आयात गर्न पनि पुग्दैन् ।

व्यापार घाटा दिनहुँ बढिरहेको छ । सरकारले जमिन ठुलो कि राजस्व ? जवाफ दिनुपर्ने भएको छ । नेपालको अर्थतन्त्र कमजोर छ भनेर सरकारले थाहा पाउन सकेन् । अर्थविद्हरु अन्जान थिए कि नौंटकी देखाए ? थाहा भएन् ।

अर्थतन्त्रलाई बाहिरबाट राम्रो देखाउने काम भयो । तर, सत्यतथ्य सरकारले देखाएन् ? अहिले आएर त्यसको असर देखिँदै छ । क्षणिकको आनन्द लिँदा अहिले मुलुक नै तहसनहस हुने अवस्थामा पुग्यो । सरकारले मालपोत कार्यालय र यातायात कार्यालयबाट उठेको राजस्वलाई आधार बनाएर बजेट तयार पार्यो ।

तर, त्यसरी बजेट बनाउनुहुँदैनथ्यो । किन कि घरजग्गाको मूल्य सँधै बढिरहन्छ भन्ने थिएन् । किनबेच सँधै एकै हिसाबले भइरहन्छ भनेर दाबी गर्ने सक्ने अवस्था थिएन् । बर्खामा जसरी भल आउँछ, यो क्षेत्र पनि त्यस्तै हो।

सरकारले के सोच्यो,‘यातायात र मालपोतबाट राजस्व उठिरहन्छ । हामी मोजमस्ती गरिरहन्छौं। सरकारी कर्मचारीको तलब बढाउँछौं । भत्ता बढाउँछौं । सरकारी गाडी किन्छौं ।’ अन्य देशबाट नेपालले किन केही सिक्न चाहँदैन् । मरुभूमिमा खेतीपाती गर्ने मुलुकहरु पनि छन्।

पानी, माटो ल्याएर खेतीपानी गरिरहेका छन् । विकसित मुलुकले सरकारकै स्वामित्वमा जग्गा राख्ने गरेको छ । जनताको स्वामित्वमा जमिन दिनुहुन्न भन्ने मान्यता विकसित मुलुकको सरकारमा छ ।

त्यही भएर त उनीहरुको देशले विकासमा फड्को मारेको छ। नेपालमा घरजग्गा दलाली नै सरकारमा छन्। जनप्रतिनिधिहरु सबै दलाली पृष्ठभूमिबाटै आएका हुन्। आफ्नो कारणले सरकार र जनतालाई क्षति पुग्छ भनेर उनीहरुले सोचेनन्। सरकारमा बस्नेहरुले नै नचाँहिदो काम गरे।

भोलिका दिनमा भारतले नेपाल कब्जा गर्न खोज्यो भने के गर्ने ? नाकाबन्दी गरिदियो भने यहाँका जनताले के खाने ? अनि घर भत्काउन थाल्ने ? घर भत्काएर पनि काम भएन् । सामान फाल्ने ठाउँ चाहियो।

खेतीयोग्य जमिनमा घर र बाटो बनाउन दिनुको परिणाम अबको पाँच वर्षमा देखिन्छ। सरकारले अझैपनि लापरवाही देखाउने हो भने यहाँ भोकमरी लाग्छ । माटो जनतालाई पाल्ने वस्तु हो, त्यसको संरक्षण गरौं।