सन्दीप विरुद्धको मुद्दाको आज सुनुवाइ हुँदै

काठमाडौं। राष्ट्रिय क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज हुने भएको छ । काठमाडौं जिल्ला अदालतमा हुन लागेको उनको मुद्दालाई आज पेसीमा राखिएको हो।

चिकित्सकसहित दुईजना सरकारी साक्षीको वकपत्र सम्पन्न भएसँगै अदालतले लामिछानेको मुद्दामाथि सुनुवाइ गर्न लागेको हो।

सर्वोच्च अदालतले लामिछानेको मुद्दालाई प्राथमिकतामा राखेर फैसला दिन आदेश दिए पनि जिल्ला अदालतले भने अझै फैसला दिन सकेको छैन।

आज न्यायाधीशले अन्य प्रमाण पेस गर्न आदेश नादिएमा अन्तिम सुनुवाइ आजै सुरु हुने लामिछानेका कानुन व्यवसायी अधिवक्ता मुरारी सापकोटाले जानकारी दिए।

अन्तिम सुनुवाइ आज सकिएमा आजै फैसला पनि आउने सम्भावना छ । लामिछानेविरुद्ध गत वर्षको ५ भदौमा एक किशोरीलाई बलात्कार गरेको अभियोग छ।