वैज्ञानिक साम्यवाद: संक्षिप्त विश्लेषण

– हस्तबहादुर केसी
हामी आफूलाई कम्युनिस्ट भन्दछौं । कम्युनिस्टको अर्थ के हुन्छ ? कम्युनिस्ट ल्याटिन शब्द हो । कम्युनिस्टको अर्थ हो साझा । कम्युनिस्ट समाजको अर्थ हो सबैथोक साझा । जमीन , कारखाना , साझा श्रम – यही हो कम्युनिज्म । कम्युनिज्म भनेको साम्यवाद हो र कम्युनिस्ट भनेको साम्यवादी ।
– लेनिन , संकलित रचनाएँ , दश खण्डो मे , खण्ड – १० , पृष्ठ ६४ , प्रगति प्रकाशन मास्को १९८६ ।

वैज्ञानिक समाजवादको विकासका बीचबाट वैज्ञानिक साम्यवादको स्थापना हुन्छ। वैज्ञानिक समाजवादबाट वैज्ञानिक साम्यवादमा जानका लागि सर्वहारा वर्गको नेतृत्व र अधिनायकत्वमा विचारधारात्मक,शैक्षिक तथा साँस्कृतिक क्षेत्रमा संघर्षको प्रक्रियालाई अगाडि बढाउन आवश्यक हुन्छ।

वैज्ञानिक साम्यवाद भन्नेबित्तिकै अर्को अवैज्ञानिक वा त्यसप्रकारको साम्यवाद थियोे भन्ने जनाउँछ। हो , मानव समाजको विकासको इतिहास ज्यादै लामो र समृद्धशाली छ र शुरुको मानव समाज आदिम साम्यवादी समाज थियो जुन एकप्रकारले जंगली अवस्थाको थियो भने पछिल्लो अत्यन्तै विकसित र चेतनशील समाज चाँहि वैज्ञानिक साम्यवाद हुनेछ । जसको बारेमा तल विश्लेषण गर्ने प्रयत्न गरिएको छ।

पहिलो – आदिम साम्यवाद , जसलाई जंगली युगको व्याख्या गरेको पनि पाइन्छ । दास युगको जन्म हुनु पूर्वको मानव समाज आदिम साम्यवाद हो।

यो अबधिसम्म कायम रहेको थियो। आदिम साम्यवादी समाजवादी समाज हुँदै कविलाई गोत्रिय मानव समाजमा विकास हुनेक्रममा जब दासस्वामी ( दास मालिक समाज ) उदयसंगै वर्गको जन्म , जसलाई दास समाज भनिन्छ। त्यसदेखि यता वर्गीय समाजको उत्पत्ति र विकास भयो।
यसैक्रममा दास समाज , सामन्ती समाज,वैज्ञानिक समाजवादी र वैज्ञानिक ÷साम्यवादी समाज गरी समाज विकासका चरणबारे वैज्ञानिक साम्यवादका सिध्दान्तकार कार्ल मार्क्स ( सन १८१८ – १८८३ ) ले वैज्ञानिक ढंगले व्याख्या गर्नु भएको छ।

दोस्रो – वैज्ञानिक साम्यवाद ,जुन विषयमा यस लेखमा विश्लेषण गर्ने प्रयत्न गरिएको छ ।

समाज विकासको अन्तिम र वैज्ञानिक चरण साम्यवाद हो । वैज्ञानिक समाजवादमा सर्वहारा वर्गको अधिनायकत्वद्वारा निरन्तर संघर्ष (वर्गसंघर्ष) को माध्यमबाट पुँजीवादी अवशेष नष्ट गरे पछि त्यहाँ वर्गीय शोषण हुँदैन र वर्गबिहिन र राज्यबिहिन हुन पुग्छ।

यस अवस्थामा सबै समान हुन्छन् । मानिसद्वारा मानिसमाथि हुने सबै खाले शोषण,दमन ,उत्पीडन,अन्याय,अत्याचार समाप्त हुन्छ ।प्रत्येक व्यक्ति आफ्नो योग्यता अनुसार काम गर्दछन् र आवश्यकता अनुसार माम प्राप्त गर्दछन्।

यही वर्गबिहिन,राज्यबिहिन र शोषण – उत्पीडनबिहिन सबै समान हुने , सम्पूर्ण उत्पादनका साधनहरु सामाजिकृत हुने व्यवस्था नै वैज्ञानिक साम्यवाद हो।माथि महान् लेनिनले पनि भन्नुभएको छ , साम्यवाद शब्द अंग्रेजी कम्युनिज्म र ल्याटिन कम्युनिज्मसंग सम्बन्धित छ।

साम्यवादी समाजको उच्चतम अवस्थामा के हुन्छ ? मार्क्स भन्नु हुन्छ ,साम्यवादी समाजको उच्चतम अवस्थामा श्रमविभाजनप्रति व्यक्तिको दासत्वपूर्ण अधीनता र त्यसको साथै मानसिक तथा शारीरिक श्रमबीको अन्तर्विरोध समाप्त भए पछि,श्रम जीवनको मात्र एक साधन नभई वास्तविक अर्थमा जीवनको सर्वोवरि आवश्यकता बनिसकेपछि व्यक्तिको सर्वाङ्गीण विकासको साथसाथै उत्पादक शक्तिहरुको पनि बृध्दि र सामाजिक सम्पदाका सबै श्रोतहरु अधिक वेगले प्रवाहमान भए पछि यो कहीं गएर बुर्जुवा अधिकारको संकीर्ण क्षितिजलाई नाघ्न सकिनेछ र समाजले आफ्नो झणडामाथि अंकित गर्न सक्ने छ , प्रत्येकसंग उसको क्षमता अनुसार , प्रत्येकलाई उसको आवश्यकता अनुसार।मार्क्स – एंगेल्स संकलित रचनाएँ,खण्ड – ३ , भाग – १ , पृष्ठ १८ , प्रगति प्रकाशन मास्को १९८६ ।

संक्षिप्तमा भन्नुपर्दा साम्यवाद तथा साम्यवादी आदर्श एउटा यस्तो नयाँ मानवतावाद हो , शोषक र शोषित वर्ग हुँदैनन्। वर्गसंघर्ष हुँदैन र ठीक त्यसैले राज्यसत्ता पनि हुँदैन । यो एक वर्गबिहिन,उत्पीडनबिहिन तथा राज्यबिहिन नयाँ समाज व्यवस्था हो , नौलो संसार हो।

यो समाजव्यवस्थामा व्यक्तिगत सम्पत्तिको अन्त्य हुन्छ। निजी मामिलाको झन्जटको अन्त्य हुन्छ र सुन्दर सामुहिक जीवनको शुरुवात हुन्छ।

साम्यवादको आदर्श भनेको,हरेकले आफ्नो योग्यता अनुसारको परिश्रम गर्ने र हरेकले आफ्नो आवश्यकता अनुसारको पारिश्रमिक लिने भन्ने महान् सिध्दान्तको कार्यान्वयन गर्ने हो।

साम्यवाद अन्तर्गत उत्पादक शक्तिहरुको उत्चतर स्तर , भौतिक वस्तुहरु सेवाहरुको पर्याप्त उपलब्धता र काम प्रतिको साम्यवादी दृष्टिकोणले गर्दा “ हरेकले आफ्नो क्षमता अनुसार र हरेकले आवश्यकता अनुसार “ भन्ने सिध्दान्त अपनाउन सम्भव बनाउँछ।

किनभने साम्यवाद भनेको उत्पादनका साधनहरुमाथि सार्वजनिक स्वामित्व कायम भएको अनि समाजका सम्पूर्ण सदस्यहरुको पूर्णरुपेण सामाजिक समानता कायम भएको वर्गबिहिन सामाजिक व्यवस्था हो।

साम्यवादी सामाजिक व्यवस्थामा विज्ञान र प्रविधिमा हुने लगातार उन्नतिका आधारमा उत्पादक शक्तिहरुको वृध्दिसंगै जनताको सर्वतोमुखि विकास अगाडि बढ्छ । साम्यवाद भनेको स्वतन्त्र एवम् सामाजिक रुपले सचेत श्रमिक जनताको एउटा उच्चतम ढंगले संगठित समाज हो।

साम्यवादी समाजमा सार्वजनिक स्वशासनको स्थापना हुन्छ । साम्यवादी समाजमा समाजको हितका लागि श्रम गर्ने कुरा हरेक व्यक्तिको अतिमहत्त्वपूर्ण आवश्यकता बन्न जान्छ । उत्पादन मानिसको हित र स्वार्थका निम्ति मात्र सञ्चालन हुन्छ।

साम्यवादका बारेमा माओ त्सेतुङले भन्नुभएको छ, साम्यवाद भनेको एकैसाथ सर्वहारा विचारधारा र नवीन सामाजिक प्रणाली सहितको पूर्ण व्यवस्था हो।

यो अन्य कुनै पनि विचारधारा वा सामाजिक व्यवस्था भन्दा फरक हुन्छ र मानव समाजमा यो नै एकदमै पूर्ण,प्रगतिशील, क्रान्तिकारी र तर्कसंगत प्रणाली हो। 

मार्क्सले साम्यवादलाई नयाँ मानिसको सर्जक बताउँदै अगाडि भन्नुभएको छ ,साम्यवाद “जुन एक स्वतन्त्र मानिसहरुको स्वतन्त्र समाज हुनेछ “ को मूलभूत अभिभारा भनेको नव मानवहरुको सिर्जना गर्नु हो।

गाउँ र शहर , तथा शारीरिक र मानसिक श्रमका बीचका सबै भेद पनि समाप्त हुन्छन्। वैज्ञानिक साम्यवादी समाजमा उत्पादक शक्ति र सामाजिक उत्पादनमा अत्याधिक विकास हुनेछ।

त्यसैले वैज्ञानिक साम्यवादी समाजमा माल उत्पादन बन्द हुनेछ र त्यसका साथसाथै माल तथा मुद्रा व्यवस्थाको पनि अन्त्य हुनेछ।

वैज्ञानिक साम्यवाद एउटा सभ्य , सुन्दर र समानतामूलक सामाजिक व्यवस्थाका साथै विचारधारात्मक व्यवस्था पनि हो। ठीक त्यसो भएर नै मार्क्सका अनन्य मित्र एंगेल्सले भन्नुभएको छ,कम्युनिज्म भनेको सर्वहाराको मुक्तिको सर्तहरूको सिध्दान्त हो।– मार्क्स – एंगेल्स संकलित रचनाएँ , खण्ड – १ , पृष्ठ ९७ , प्रगति प्रकाशन मास्को १९७८।

वैज्ञानिक साम्यवादी व्यवस्था एक्कासि आकाशबाट खसेजस्तो गरी बनिबनाउ व्यवस्था होइन। साम्यवादी समाजमा प्रवेश गर्नका लागि संस्कृति र विचारधाराका क्षेत्रमा आमूल क्रान्तिको आवश्यकता पर्दछ।

अर्थात् मानव समाजको विकासक्रममा वैज्ञानिक समाजवादी व्यवस्थामा सर्वहारा वर्गको अधिनायकत्व अन्तर्गत भीषण वर्गसंघर्ष र विचारधारात्मक सञ्चालन गरेर मात्र विश्व कम्युनिज्मको उदय हुन्छ र वैज्ञानिक साम्यवादी वयवस्था स्थापना हुन पुग्नेछ ।
निष्कर्ष :-
कम्युनिस्ट क्रान्तिकारीहरु मार्क्सवाद – लेनिनवाद – माओवादको आलोकमा सर्वहारा वर्ग तथा उत्पीडित जनसमुदाय र अन्ततः सिंगो मानव जातिकै सुन्दर , सुसंगत तथा उदात्त प्रकार नयाँ संसार निर्माण गर्न चाहन्छन्।

नयाँ संसार संभव छ , त्यो नयाँ संसार भनेको वर्गबिहिन , राज्यबिहिन अत्यन्तै सुन्दर र समृद्धिशाली वैज्ञानिक साम्यवाद नै हो।

(वरिष्ठ माक्र्सवादी लेखक तथा अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन्)