अस्पतालले पार्किङको शुल्क उठाए कारबाही गर्ने मन्त्रालयको चेतावनी

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा सरकारी अस्पतालहरुले पार्किङको शुल्क लिए कारबाही गर्ने जनाएको छ।

मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै पार्किङको शुल्क उठाउने गरेको गुनासो आएको भन्दै अस्पतालहरुले पार्किङकको शुल्क उठाए कारबाही गर्ने चेतावनी दिएको हो। त्यस्तै मन्त्रालयले अस्पतालमा कार्यरत जनशक्तिलाई न्यूनतम पारिश्रमिकसमेत उपलब्ध नगराएको गुनासो आएको बताएको छ।

मन्त्रालयले सबै सरकारी, निजी, सामुदायिक अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजहरुलाई कुल शय्याको १० प्रतिशत शय्या विपन्न, असहाय, बेवारिसे बिरामीको लागि छुट्याइ निःशुल्क उपचार अनिवार्यरुपमा गराउनुपर्ने पुनः ताकेता गरेको छ।

वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड, २०७७ अनुसार बिरामीले संस्थाबाट सेवा प्राप्त गर्न लाग्ने शुल्क, प्रक्रिया तथा अवधिसमेत खुलाएको बिरामी वडापत्र अस्पतालको अग्रभागमा देखिने गरी राख्नु पर्ने भए तापनि यस मन्त्रालय र मातहतका निकायहरुबाट विभिन्न स्वास्थ्य संस्थाहरुमा नियमित तथा आकस्मिक अनुगमनको क्रममा नपाएको भनिएको छ।

मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखाका उपसचिव एकदेव खनालले कानुनमा भएका सम्पूर्ण व्यवस्थाहरु सम्बन्धित स्वास्थ्य संस्थाहरुले पूर्णरुपमा पालना गर्न गराउनुपर्ने अन्यथा प्रचलित कानुनबमोजिम कारबाही हुने जनाए।