आज सन्दीपविरुद्धको मुद्दामा सुनुवाइ हुँदै

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाई हुँदैछ। यस अघि वैशाख ११ गते न्यायाधीश दिपक ढकालको इजलासमा तोकिएको अन्तिम सुनुवाइ जाहेरवालाको तर्फबाट चार कानुन व्यवसायीहरूले बहस गरेपछि स्थगित भएको थियो।

त्यसपछि आज पुनः सुनुवाई हुन लागेको हो। आज पीडितले अन्तरिम राहत माग गर्दै परेको निवेदनमा पनि सुनुवाइ हुनेछ।सन्दीपविरुद्धको मुद्दाका पीडितले अन्तरिम राहत माग गर्दै पेस गरेको निवेदनको सुनुवाइ गत बिहीबार भएको थियो।

सुनुवाइपछि इजलासले आज मुख्य मुद्दाको सुनुवाइ हुने भन्दै सँगै राखी पेस गर्न आदेश दिएको छ। लामिछानेविरुद्ध नाबालिग बालिकालाई बलात्कार गरेको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा विचाराधीन छ।

गत वर्ष भदौ ५ गते पटक–पटक बलात्कार गरेको आरोपमा भदौ २१ गते जाहेरी दर्ता भएको थियो। उनी उजुरी दर्ता भएको १ महिनापछि असोज २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए।

पक्राउ परेपछि उनलाई प्रहरी हिरासतमा राखी अनुसन्धान गरिएको थियो। अनुसन्धान सकिएसँगै कार्तिक १५ गते उनीविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (२) बमोजिम को कसुरमा मुद्दा दायर भयो।

लामिछानेलाई नाबालिग बालिकालाई बलात्कार गरेको अभियोगमा दफा २१९ को उपदफा ३ (घ) अनुसार १० देखि १२ वर्षसम्म सम्मको कैद सजाय र पीडितलाई क्षतिपूर्ति माग गरिएको छ।

मुद्दा दायर भएसँगै उनलाई न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो।उक्त आदेश पाटन उच्च अदालतले उल्टाउँदै लामिछानेलाई विदेश जान नपाउने सर्तसहित २० लाख धरौटीमा रिहा गरेको थियो।

उच्च अदालतको उक्त आदेश सदर गर्दै सर्वोच्च अदालतको न्यायाधीसद्वय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले उनलाई क्रिकेट खेल्न विदेश समेत जान मिल्ने गरी धरौटीमा छाड्ने आदेश दिएको थियो।